विशेषतः पानीको कमी र उच्च सोडियमयुक्त खानाले पत्थरी बढाउँछ। पिसाबमा हुने पोटासियम, म्याग्नेसियम, भिटामिन सी र बी–६ ले पत्थरी हुन दिंदैन। शरीरमा पानीको कमी बाहेक पिसाब नली थुनिनु, संक्रमण हुनु, हप्तौंसम्म एकै ठाउँमा बसिरहनु, खानामा क्याल्सियम, अक्जालेट, युरिक एसिड, भिटामिन डीको मात्रा बढ्नु, केही औषधिको गलत प्रयोग र अरू रोगका कारणले पनि मिर्गौलामा पत्थरी आउँछ। अमिलो फल वा पेयले पत्थरीको समस्या घटाउँछ भने भिटामिन सीको चक्कीले बढाउँछ।
लक्षण र उपचार
मिर्गौलामा बनेको पत्थरी टुक्रिएर साँघुरो पिसाब नलीमा आइपुग्दा असह्य पीडा हुन्छ। पत्थर सर्दै पिसाब थैलीमा पुग्दा क्षण–क्षणमा पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने हुन्छ। मिर्गौलामा पत्थरी हुँदा एकापट्टिको मिर्गौलामा वा पछाडि एक्कासी पीडा हुने, पिसाबमा रगत देखिने, वाक्वाकी–रिंगटा लाग्ने, उल्टी आउने आदि हुन्छ। ढाड, मिर्गौलाको वरिपरि र तल्लो पेट पनि साह्रै दुख्छ। पत्थरीको कारणले पिसाब नलीको संक्रमण हुन गई कामज्वरो आउने पनि हुन सक्छ।
यस्तो समस्या भएमा तुरुन्तै उपचारमा जुट्नुपर्छ। डाक्टरले पत्थरको संख्या, प्रकृति तथा अवस्थिति हेरेर उपचार विधि तय गर्छन्। उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थर ठूलो रहेछ भने शल्यक्रिया नै गर्नुपर्छ। ६ मिलिमिटर भन्दा साना पत्थरहरूलाई प्रशस्त पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ। औषधि सेवनबाट यो समस्याको स्थायी समाधान हुँदैन।
चिकित्सा विज्ञानमा आएको पछिल्लो प्रविधिले पत्थरीको उपचारलाई सहज बनाएको छ। लिथोट्रिप्सी प्रविधिमा चिरफार नगरी उच्च आवृत्तिका ध्वनि तरङ्गबाट पत्थरी फुटाएर पिसाबबाट बाहिर निकालिन्छ। पिसाब नली फुलेको अवस्थामा पिसाबको बहाव सुचारु पार्न पेटमा सानो प्वाल बनाई सीधै मिर्गौलाबाट पिसाब निकाल्ने प्रक्रिया ९पीसीएनएल प्रविधि० अपनाइन्छ। पिसाब थैली वा नलीभित्र पत्थरी छरछैन भनेर हेर्ने सिस्टास्कोपी वा युरेटेरोस्कोपी प्रविधि आएको छ। यस्तो प्रविधिबाट पत्थरीको उपचार गराएका बिरामी केही दिनमै नियमित काममा फर्किन्छन्।
विभिन्न व्यक्तिमा पत्थरीको प्रकार फरक हुन्छ। क्याल्सियम प्रकारका पत्थरी भएकाहरूले कोदो, दूध, दुग्ध पदार्थ, माछा, सागपात कम खानुपर्छ भने फोसफेट प्रकारका पत्थरी भएकाहरूले भरसक मकै, दाल, गेडागुडी, तिल, केरा, बदाम, गाजर, माछामासु, अण्डा, दूध, चिज, कलेजो खानुहुँदैन। कोक त झ्न् खानै हुँदैन। अक्जालेट प्रकारका पत्थरी भएकाहरूले चिया, कफी, बियर, चकलेट, अमला, अंगुर, कागती, काजु, पिंडालु, सखरखण्ड, पालुङ्गो, रायो साग, बन्दा, काउली, गोलभेंडा, भान्टा, रामतोरिया, तोफु आदि खान्कीबाट भरसक जोगिनुपर्छ। यसैगरी, युरिक एसिड प्रकारका पत्थरी भएकाहरूले माछामासु, अण्डा, कलेजो, फोक्सो, मिर्गौला र गिदी खानुहुँदैन। मिर्गौलाको पत्थरी भएकाहरूले ग्यास्ट्राइटिस विरुद्ध खाइने एन्टासिड झोल पनि कम गर्नुपर्छ।
क्यानेडियन किड्नी फाउण्डेशनले घण्टैपिच्छे एक एक गिलास पानी खाने सुझाव दिएको छ। कफी, चिया, कोक आदिको साटो कागती, अदुवा पानी खाएर मिर्गौलामा पत्थरी हुने सम्भावना घटाउन सकिन्छ।






