नेपालमा नयाँ रोग स्क्रब टाइफसको आतंक,आठ बालबालिकासहित एक गर्भवतीको ज्यान गयो

 काठमाडौं १९ असाेज । मुलुकका विभिन्न जिल्लामा एक महिनायता फैलिएको स्क्रव टाइफस नामक नयाँ रोगले आठजना बालबालिकासहित एक गर्भवतीको ज्यान लिएको छ।

टाइफसको संक्रमणबाट ४० जना अस्पतालमा भर्ना भएको र एक सयभन्दा बढीको उपचार भइसकेको स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाले आइतबार पुष्टि गरेको छ।लगातारको तराई बन्द, नाकाबन्दीजस्ता समस्याले रोग नियन्त्रणमा कठिनाइ भएको महशाखा प्रमुख डा. बाबुराम मरासिनीले बताए।

‘देशको खराब स्थितिले रोगका लक्षण देखिएका बिरामी अस्पताल गएर उपचार गर्न पाएका छैनन् । न त स्वाथ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुग्न सकेको छ’, मरासिनीले भने, ‘रगत जाँचका लागि मानिसहरू प्रयोगशालामा जान पाएका छैनन् । हामीले समेत सहज रूपमा रगतको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याउन सकेका छैनांै ।’

महाशाखाका अनुसार मुसा, गाईभैंसी, झाडीलगायतमा पाइने साना किर्ना (माइट) ले टोक्दा सर्ने ब्याक्टेरियाका कारण मानिसमा टाइफस देखा पर्छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीस्थित सेती अञ्चलनमा उपचारका लागि भर्ना भएकाको ज्यान गएको हो ।

अहिले धरान र सेती अञ्जल अस्पतालमा टाइफसबाट संक्रमति ४० जना बिरामीको उपचार भइरहेको छ ।भोजपुर, संखुवासभा, ताप्लेजुङ, खोटाङ, धनकुटालागयत पूर्वी पहाडी जिल्लाबाट पश्चिमी जिल्लामा टाइफस फैलिएको महाशाखाको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

टाइफसबाट धादिङमा समेत मानिस थला पर्न थालेको र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा केही बिरामी उपचार गरी फर्किएका छन्। एकपछि अर्को जिल्लामा फैलँदै गएको टाइफस नियन्त्रणमा ठूलो चुनौती देखिएको देखिएको सरकारी अधिकारीले बताएका छन्।

अचानक ज्वरो आउने, ससाना बिमिरा देखिने, टाउको दुख्ने, माँसपेसी दुख्ने, झाडापखाला हुनेजस्ता मुख्य लक्षणको यो रोग लागेपछि निमोनिया वा मेनेन्जाइटिस भएर महिला र बालबालिकाको ज्यान जाने गर्छ । विशेष गरी रोग लागेको ६ देखि १८ दिनभित्र बिरामीको मृत्यु हुने गरेको छ ।

‘ज्वरो आएको केही दिनमै रोग पत्ता लगाई आवश्यक एन्टिबायोटिक खाएमा रोग निको हुन्छ । ढिलो हुँदा बिरामीलाई बचाउन सकिँदैन’, मरासिनीले भने, ‘बिरामी सिकिस्त परेपछि मात्र अस्पताल आउने गरेका छन्, जसले गर्दा उनीहरूलाई बचाउन कठिन हुन्छ ।’

रोग नियन्त्रणका लागि प्रभावित जिल्लामा भएका किर्ना मार्नुपर्ने भए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन । ‘यो रोगबारे धेरै चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि जानकारी छैन’, मरासिनीले भने, ‘उनीहरूलाई तालिम आवश्यक छ ।’

जापान हुँदै रूस, अस्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान, थाइल्यान्डमा देखिएको टाइफस नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले आह्वान गरेको थियो ।

रोग अन्सुन्धान गर्न भारतीय विज्ञ नेपालमा

स्क्रव टाइसफ फैलिने र यसबाट मानिसको ज्यान जाने क्रम बढेपछि थप अनुसन्धानका लागि भारतीय सरुवा रोग विशेषज्ञ डा. श्यमाल विश्वासलाई नेपाल बोलाइएको छ ।

विश्वासको नेतृत्वमा महामारी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको टोलीले रोग सार्ने किर्ना नेपालमा कहाँ कसरी फैलिएको भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

विशेष गरी रोग सार्ने किर्नाका ब्याक्टेरियाबारे अनुसन्धान भइरहेको र भारतमा लगी थप नमुना परीक्षण गरेपछि मात्रै अनुसन्धानको निष्कर्ष निस्कने मरासिनीले बताए ।