हार्ट फाउण्डेसन यूकेको सचेतना कार्यक्रम सम्पन्न भिडियो सहित

शिव भण्डारी,

लण्डन ।

अन्तर्राष्ट्रिय मुटु दिवसको सन्दर्भमा नेपालिज हार्ट फाउण्डेसन यूकेले लण्डनमा एक सचेतना कार्यक्रम गरेको छ । साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा आइतबार गरिएको कार्यक्रममा मुटु र मुटु रोगसम्बन्धी विभिन्न विषयमा चर्चा गरियो । bikal
कार्यक्रममा नेपालिज हार्ट फाउण्डेसन यूकेका अध्यक्ष विकलचन्द्र आचार्यले मुटुरोगको रोकथामका लागि जीवनशैली र खानपानमा विशेष सतर्कता आवश्यक हुने बताए ।

नियमित रुपमा आफनो स्वास्थ्य चेक गराउने बानी जरुरी छ भन्दै उनले हरेक व्यक्तिले आफनो नाम र ठेगानाजस्तै रक्तचाप, डायबेटिज र कोलेस्ट्रेलको तह पनि जानीराख्नुपर्ने धारणा राखे ।

अस्पताल जान हिच्किचाउने आम प्रवृत्तिका कारण पनि नेपालीहरुमा मुटुसम्बन्धी समस्या झन बढेको उनको भनाइ थियो ।
बेलायतमै नर्सिंग पेशामा आबद्ध रहेका फाउण्डेसनका संयोजक बासु लामिछानेले ह्दयघात हुनेबित्तिकै कसरी तत्काल नै प्राथमिक उपचार दिने भन्ने बारे जानकारीमुलक मन्तव्य राखे ।
कार्यक्रममा बेलायतस्थित साहित्यकार जया राई, गोर्खाली समाज यूके अध्यक्ष भरत क्षेत्री, एनआरएन आईसिसी सदस्य विश्वदीप तिगेलासंगै बेलायतमा क्रियाशिल झण्डै आधा दर्जन नेपाली पत्रकारको पनि उपस्थिति थियो ।
सन २००५ मा स्थापित फाउण्डेसनले मुटुरोगसम्बन्धी सचेतना जगाउने उद्धेश्यले बेलाबेलामा यस्तै कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।