काठमाडौं, असोज ९ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी त्यागको घोषणा गरेका छन् ।
नेता भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागको घोषणा गरेका हुन् ।
उनले शनिबारै (आज)देखि व्यवस्थापिका संसदको सदस्यबाटसमेत राजीनामा दिएका छन् ।
नेता भट्टराईले अब आफू नयाँ ढंगले अघि बढ्ने बताए । उनले पूँजीवादी क्रान्ति सम्पन्न गर्न नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था आएको भन्दै त्यसैदिशामा आफू अघि बढ्ने स्पस्ट पारे ।
संविधानसभाबाट संविधान जारी गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि सबै जनतालाई सन्तुष्टि दिलाउन भने नसकेको उनले बताए ।
तराईका जिल्लालाई दुई प्रदेशमा विभाजित गर्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको भन्दै नेता डा. भट्टराईले अहिलेका राजनीतिक दलका नेताहरुमा नक्कली राष्ट्रवादी मात्र रहेको आरोप लगाए ।
उनले भारतसँगको असमझदारी कुटनीतिक रुपमा हल गर्दै जानुपर्ने बताए ।







