काठमाडौं, ९ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले एक पछि अर्काे प्रतिक्रिया जनाइरहेको छ ।
सुरुमा नाकाबन्दी गर्ने धम्की दिएको भारतले त्यसलगत्तै संविधान संशोधन गर्न ७ बुँदे सुझाव पत्रिकामार्फत सार्वजनिक गरेको थियो । मधेसीलाई थुप्रै अधिकार तथा प्रत्यक्ष रुपमा भारतलाई फाइदा हुनेगरी सार्वजनिक गरेको सुझाव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भन्दा फरक थिएन् ।
मधेसी मोर्चाले नै राखेको माग भारतले राखेपछि मोर्चामाथि शंका गरिएको थियो । कतै मधेसी मोर्चा भारतबाटै परिचालित त छैन् भन्ने शंका मधेसी जनताहरुमा समेत लागेको थियो । तर, शनिबार मोर्चाले भारतका मागबारे आफूलाई थाहासम्म नभएको अपुष्ट जवाफ दिएको छ ।
मोर्चाका एक नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि चर्चामा रहेको सात बुँदे माग संयुक्त मधेसी मोर्चाको नरहेको स्पष्ट पारे । उनले भने – “वार्तामा माग प्रस्तुत गर्ने गरिन्छ, अहिलेसम्म सरकारसँग कुनै वार्ता नभएको अवस्थामा यो माग कहाँबाट आएको हो यस सम्बन्धमा आफूलाई जानकारी छैन ।”
उनले नेपालको आन्तरिक समस्यालाई नेपालीले नै समाधान गर्नुपर्ने उल्लेख गर्दै छिमेकी राष्ट्रले दिएको सुझाव, सल्लाहलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे ।
भारतको ७बुँदे मागबारे मधेसी मोर्चाले मुख खोल्यो







