बीरगञ्जमा गोली चल्यो,एक जनाको मृत्यु, इन्सपेक्टरसहित ४ जना घाइते

Band-311Gबीरगञ्ज, असौज ३ । नयाँ संविधान घोषणाको भव्य तयारीमा राजधानी सिंगारिरहेको बेला मध्य तराईको बीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराका अनुसार, बीरगञ्जको घण्टाघर चोकमा गोली चलेको छ । प्रहरीको गोली लागि पर्साको पकाहा मैनपुरका शत्रुधन पटेलको मृत्यु भएको छ ।गोली लागि ४ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बन्जाराले बताए । झडपमा  प्रहरी निरिक्षक शेख अदालत समेत घाइते भएका छन् ।

गाउँगाउँबाट नयाँ संविधान घोषणाको विरोधमा बीरगञ्ज बजारमा आएका प्रदर्शनकारी र प्रहरीबीच शहरका बिभिन्न चोकमा पटकपटक झडप भएको छ ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्दै अगाडि बढ्ना खोज्ने क्रममा झडप भएको थियो । प्रहरीले अहिले सम्म दर्जनौ राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ । नयाँ जारी हुन लागेको संविधानले मधेशका मुद्धा नसमेटेको भन्दै मधेसी मोर्चाका आव्हानमा प्रदर्शन भएको हो ।

बन्जाराका अनुसार, गत हप्तादेखि गाउँ केन्द्रीत कार्यक्रम रहेपनि आज आइतबार भने सबै प्रदर्शनकारी शहरमा पसेका हुन । ठूलो संख्यामा रहेका प्रदर्शनकारी र प्रहरीबीच अहिले पनि झडपको क्रम जारी नै रहेको छ ।

अध्यक्ष बन्जाराले सञ्चारकर्मीहरुलाई समेत दुबै पक्षबाट तारो बनाइरहेकोले सूचना संकलनमा समेत अप्ठ्यारो परेको बताएका छन् । “सडकमा निस्केर रिपोर्टिङ गर्न सकिरहेका छैनौं । दुबै पक्षले आक्रमण गर्ने डर छ ।” उनले बताए ।