काठमाडौँ, २५ भदौ । नेकपा (एमाले) का नेता तथा साहित्यकार प्रदीप नेपालले संविधान निर्माणका क्रममा वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गर्नुभएको छ । साहित्यकार सुमन सौरभको चौथो कृति ‘मृत्युसङ्ग्रह’ माथि लघुकथा समाजले आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले संविधान बनेमा नेपाल स्थिरतामा जान्छ भनी चिन्ता गर्ने मुलुकले सकेसम्म संविधान नबनोस् भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो – “मधेसी दलको मागका आधारमा मधेसका जिल्लाको एक प्रदेश बन्ने तय भइसकेको छ तर पनि आन्दोलन जारी छ, थारुहरुले अधिकार माग्नु स्वाभाविक हो तर मधेसी दलको आन्दोलनको कार्यसूची के हो ? भन्ने मैले बुझेको छैन ।’’
उहाँले लेखकले राष्ट्रियताको संरक्षण र पुँजीवादी विकृत अपसंस्कृतिबारे कलम चलाउनुपर्नेमा जोड दिँदै त्यसका लागि लघुकथा पनि सशक्त विधा हुन सक्ने धारणा राख्नु भयो । पुस्तकबारे समीक्षा गर्दै समालोचक मोहनराज शर्माले सौरभका लघुकथा मृत्युचिन्तनमा केन्द्रित भए पनि स्वैरकल्पनामा आधारित भई रोमाञ्चक शैलीमा लेखिएको बताउनुभयो । अन्तक्र्रियामा भाग लिँदै डा लक्ष्मणप्रसाद गौतम, ध्रुव मधिकर्मी, जय छ्याङ्छा, पवन आलोक, छविरमण सिलवाल, तुल्सीहरि कोइराला, सुष्मा मानन्धर, समाजका अध्यक्ष श्रीश्रोम श्रेष्ठ ‘रोदन’, लगायतले सौरभका लघुकथा प्रयोगिक भएको विचार व्यक्त गर्नु भयो । कुल ८० पृष्ठको पुस्तकमा ४८ लघुकथा छन् ।
वैदैशिक हस्तक्षेप बढ्यो: नेता नेपाल






