लन्डनमा गुल्मेली फत्त थापाले शुरु गरे केयर कम्पनी

लन्डन

Fatta Thapa 1-X3

साउथ इष्ट लन्डन निवासी गुल्मेली व्यवसायी फत्त थापाले केयर कम्पनी सञ्चालन गरेका छन् ।

वृद्धवृद्धाको हेरचाहका लागि होम इन्सटेड सिनियर केयर नामक कम्पनी सञ्चालनमा आएको हो । उक्त केयर कम्पनीले ग्रीनवीच, बेक्स्ली र वरपरको क्षेत्र हेर्ने जनाइएको छ । कम्पनीले कम्तीमा ५० जना स्थानीयलाई रोजगारी दिने लक्ष्य समेत लिएको छ । कम्पनीले समूहमा रहेर काम गर्न इच्छुक व्यक्तिलाई तालिम समेत उपलव्ध गराउने जनाउंदै आवेदन दिन पनि आग्रह गरेको छ ।Home-Instead-Senior-Care%20(2)[1]

सञ्चालक थापाले कम्पनीको उद्देश्य केयर सर्भिस दिने मात्र नभइ वृद्धवृद्धालाई आफ्नोपनको आभास दिलाउनु समेत रहेको जनाए ।

कम्पनीको अर्को उद्देश्यमा गुणस्तरिय सेवा प्रदान जस्तैः खाना बनाउने, हाउस किपिङ, डिस्चार्जपछि रेखदेख, व्यक्तिगत हेरचाह, औषधि सेवन र किनमेलमा सहयोग आदि समेत छन् ।

थापा बेलायतमा ‘स्किल्स् एण्ड केयर’ नामक संस्थाका तर्फबाट गरेको सामुदायिक सेवाका लागि केही समयअघिमात्र सिभिक अवार्ड प्राप्त गरेका थिए ।

‘स्किल्स् एण्ड केयर’ ले रोयल बरो अफ ग्रीनवीचका नेपालीको हकहितका लागि अनुकरणीय काम गरिरहेको छ । संस्थामार्फत विशेषगरि भूपू गोर्खा र तिनका परिवारलाई आर्थिक सहयोग जुटाउन पहल देखि स साना वालवालिकालाई नेपाली भाषा कक्षा र संगीत प्रशिक्षण दिलाउन पनि थापाको भूमिका उल्लेख्य छ ।

२० वर्षअघि सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न लन्डन आएका थापा केही वर्ष कलेज सञ्चालन र प्राध्यापनमा समेत संलग्न भए । हाल उनी श्रीमति सोनिया र तीन सन्तानका साथ साउथ इष्टमा बसोवास गर्छन् । समाज सेवी थापा विभिन्न संघ संस्था मा आबद्ध छन भने  गुल्मी जिल्ला समाज युकेका सल्लाहकार छन ।