इग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको जीत

काठमाडौं, १८ भदौ । इंग्ल्यान्डलाई ५९ रनले पराजित गर्दै अष्ट्रेलियाले पाँच खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा १–० को अग्रता लिएको छ । साउथह्याम्पटनमा विहीबार राति भएको खेलमा ३ सय ६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४५ दशमलव ३ ओभरमा २ सय ४६ रनमै समेटियो ।
इंग्ल्यान्डका लागि जेसन रोयले ६७ तथा जेम्स टेलरले ४९ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको हो । यसअघि, म्याथ्यु वेडको नटआउट ७१ तथा  डेबिड वार्नरको ५९ रनको मद्दतमा अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रनको योगफल खडा गरेको थियो ।
एसेस क्रिकेट श्रृंखलाअन्तर्गत् इंग्ल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले ५ खेलको टेस्ट श्रृंखला र एक मात्र ट्वेन्टी–२० क्रिकेटको नतिजा घरेलु टोलीलाई सुम्पिएको थियो । अब यी दुई टोलीबीचको दोस्रो एक दिवसीय खेल शनिबार लर्डसमा हुने छ ।