अलकायदाको फर्जी सुचना दिने पक्राउ

अलकायदा समूहले उपत्यकामा विस्फोटको योजना बनाएको भन्दै प्रहरीलाई फर्जी सूचना दिने रोशन भारती पक्राउ परेका छन् । अर्काको इमेलमा अनधिकृत रुपमा प्रवेश गरी गलत इमेल बनाएर प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले भारतीलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख पुष्कर कार्कीले प्रहरीलाई गलत सूचना दिएको र अर्काको इमेलमा अनधिकृतरुपमा प्रवेश गरेको अभियोगमा अनुसन्धानका लागि भारतीलाई पक्राउ गरेको बताए । उनलाई प्रहरीले साइवर क्राइमको अभियोग लगाएको छ ।
भारतीको सूचनाको आधारमा प्रहरीले गत मंसिर १९ गते काठमाडौंबाट पाँच पाकिस्तानीसहित १९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये भारतीय र नेपाली नागरिक रिहा भए पनि पाकिस्तानी नागरिक अझै प्रहरी हिरासतमा छन् ।