काठमाडौं, भदौ १२ । पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको फाइनलमा नेपालले भारतलाई पराजित गरेको हो । नेपाल ‘टाइब्रेकर’मा ५–४ ले विजयी भयो ।
नेपालका लागि टाइब्रेकरमा हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, दोन थापा र अनन्त तामाङले गोल गरे ।
यसअघि, निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल सीधै पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो ।
३१औं मिनेटमा सुनील बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाएका थिए । नेपाल विजय नजिक पुगेका अवस्थामा ८८औं मिनेटमा दिनेश राजवंशीले डी बक्सभित्र ‘ह्यान्ड’ गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतले बराबरी गरेको थियो ।
विमल घर्तीमगर नेतृत्वको टिमले जिताएको यो उपाधिसँगै नेपालले २२ वर्षपछि फुटबलमा पहिलो उपाधि जितेको छ । उपाधिसँगै कप्तान विमलले राष्ट्रलाई उपाधि दिलाउन पाउँदा निकै खुसी लागेको बताए ।







