लण्डन । रेल का कर्मचारी र युनियन बीच तलब बडाउने विषयलाई लिएर भएको असमझदारी का कारण कर्मचारीहरुले दुवै दिन सांझ साढे ६ बजे सुरु हुने हड्ताल दोस्रो दिन दिनभर नै चल्नेछ । त्यसअनुसार २५ तारिख सांझ सुरु हुने हडताल बुधबार पूरै दिन जारी रहनेछ । २७ तारिख बिहीबार बिहान ट्युब सेवा सञ्चालनमा आउनेछ । तर त्यहि दिन सांझ फेरि चौबिस घण्टे हड्ताल सुरु हुनेछ । शुक्रबार सिंगो दिन नै हडताल जारी राखिएपछि शनिबार बिहानबाट मात्र सेवा सुचारु गरिनेछ ।
ट्रयबुबाहेक लण्डनका ओभरग्राउण्ड रेल, बस , डिएलआर रेल, ट्राम लगायतका यातायात भने ट्युब हड्तालका बेला पनि सुचारु नै रहनेछन । यसअघि गतसाता अगस्ट ६ तारिख र त्यसअघि गतमहिना जुलाई ८ तारिखमा पनि उनीहरुले ट्युब हड्ताल आव्हान गरेका थिए ।
आउंदो सेप्टेम्बर १२ तारिखदेखि लण्डनमा चौबिस घण्टे ट्युब सेवा सुरु हुंदैछ । सो सेवामा काम गर्ने ड्राइभरहरुलाई दिने भनिएको तलब बढाउनुपर्ने, सातामा काम गर्नुपर्ने घण्टा घटाउनुपर्ने तथा स्टेसनहरुमा रहेका टिकट अफिस समेतमा थप कर्मचारी राख्नुपर्ने माग स्टाफ युनियनले गरेका छन । यी मागहरुमा सहमति कायम नहुञ्जेल चौबिस घण्टे सेवा सञ्चालनको योजना अनिश्चित कालका लागि स्थगित गर्नुपर्ने उनीहरुको अडान छ ।
लण्डन अन्डरग्राउण्डले भने युनियनहरुले अव्यवहारिक मागहरु थोपरेको आरोप लगाएको छ । सधै तलब बढाउन तथा कर्मचारी थप गर्न भनिरहेको र ओयस्टर कार्डको प्रयोग बढेपछि खाली भएका टिकट अफिस समेतमा कर्मचारी थप गर्न उनीहरुले माग गरेको उसको भनाइ छ ।
ट्युब ड्राइभरहरुका लागि अफर गरिएको २ प्रतिशत तलब बृद्धि उनीहरुले अस्वीकार गरेका छन । त्यस्तै रात्री सेवामा काम गर्नेहरुलाई प्रस्ताव गरिएको २ हजार पाउण्ड बोनस पनि पर्याप्त नभएको भन्दै उनीहरुले सहमति गर्न मानेनन ।







