गुल्मीमा बन्दको आंशिक प्रभाव

CMbScJyW8AAQHrh

जनार्दन घिमिरे÷गुल्मी समाचारदाता

गुल्मी, ३१ साउन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण गुल्मीको जनजीवन आईतवार आंसिक रुपमा प्रभावित बन्यो ।

विगतमा गरिने बन्दहरुको तुलनामा आईतवारको बन्दलाई गुल्मीवासीहरुले कमै चासो दिएका थिए । बन्दको आवह्वान गरेपनि वन्दकर्ताहरुले जिल्लामा खासै अवरोध पुराएका थिएनन् । लामो दुरिका सवारी साधनहरु संचालन नभएपनि विहानैदेखि मोटरसाईकल र छोटोदुरिमा चल्ने केही सवारी साधनहरु फाट्टफुट्ट रुपमा दिनभर संचालनमा आएका थिए ।

सदरमुकाम तम्घासमा समेत केही विद्यालयहरुको पठनपाठन नियमित रुपमा सुचारु भएको थियो । ग्रामिण क्षेत्रहरुमा बन्दको प्रभाव न्यून रह्यो । अधिकांस स्थानमा पसल तथा विद्यालयहरु नियमित रुपमा संचालनमा आएका थिए । वन्दकर्ताहरुले बन्दको आवह्वान गरेपनि गुल्मीको व्यापारिक क्षेत्रहरु बलेटक्सार र वामीटक्सार लगायतका वजार क्षेत्रका पसलहरु दिनभर नियमित रुपमा संचालनमा आएका थिए ।

विगतमा भन्दा यस पटकको बन्दमा सरकारी कार्यालयहरुमा कामको सिलसिलामा आउने सेवाग्राहीहरु उपस्थीति राम्रै देखिन्थ्यो । बन्दको समयमा हुने सक्ने अराजक गतिविधिहरुलाई रोक्नका लागि बिहानैदेखि चोकचोकमा प्रहरी र ससत्रलाई परिचालनगरि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।