आइएसद्धारा ३७ को हत्या

दमासकस, २५ साउन । सिरियाको उत्तरी प्रान्त आलेपोमा इस्लामिक स्टेट र विद्रोहीबीच भएको झडपमा ३७ जना विद्रोही मारिएको समाचार छ । सो जानकारी मानव अधिकारीवादी समूहले आइतबार दिएको छ ।
सिरियाको उत्तरी भागमा अलेपोको उम होउस सरहमा आइएस आतङ्ककारीले गरेको आक्रमणमा अन्य २० विद्रोही बेपत्ता भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
आइएस आतङ्ककारी समूहले विद्रोहीको सहरमा रहेको चौकीलाई लक्ष्यगरी सुरुमा एक आत्मघाती कारबम आक्रमण गरेको बताइएको छ ।
त्यसैगरी आइएस रहेको इलाकालाई लक्ष्यगरी आतङ्क विरुद्धमा चालकरहित विमानको माध्यमबाट पनि आक्रमण गरिएको बताइएको छ ।
आइएसविरुद्ध लड्दै आएको अमेरिकासँग आवद्ध सो चालकरहित विमान आक्रमणमा परी कयौँ विद्रोही लडाकू घाइते भएको पनि समाचारमा जनाइएको छ । यस आक्रमणको क्रममा दश आइएस लडाकूले पनि ज्यान गुमाएका बताइएको छ । तर पूरा सहर भने आइएस लडाकूले नै नियन्त्रणमा लिएको बताइएको छ ।