महोत्तरीमा ४० करोड विद्युत् महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले ग्राहकसँग रु ४० करोड विद्युत् महसुल असुली गर्न बाँकी रहेको जनाएको छ । गत वर्षसम्म रु ३० करोड रहेको विद्युत्को बाँकी महसुल यस वर्ष रु १० करोड बढेर रु ४० करोड पुगेको हो । विद्युत् लाइन काट्ने र चोरी नियन्त्रण गर्ने अभियानबाट विद्युत्को झन्डै रु ५० लाख पुरानो बक्यौता उठ्ने आशा लिएको कार्यालयले जनाएको छ ।
गत वर्ष विद्युत् चोरीको जरिवाना र लाइन काट्ने अभियानबाट प्राधिकरण महोत्तरीले झन्डै रु ४० लाख असुल गरेको थियो । प्राधिकरणसँग आवश्यक जनशक्ति नहुँदा जिल्लाभरिमा ५० प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने गरेका कार्यालयका प्रमुख जितेन्द्र झाले बताउनुभयो । हाल महोत्तरीमा मासिक रु एक करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ ।
प्राधिकरण महोत्तरीमा हाल ४१ जना स्थायी कर्मचारीको दरबन्दी खाली छ । १४० जना स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल ९९ जना मात्रै कर्मचारीले काम चलाउँदै आएको कार्यालय प्रमुख झाले जानकारी दिनभयो । जसको कारण जिल्लाको ग्रामीण क्षेत्रमा प्राधिकरणले वर्षांैदेखि ग्राहकको मिटर रिडिङ गर्न सकेको छैन । जिल्लाको दक्षिणी क्षेत्रका ४९ वटा गाविसमा भारतबाट तथा उत्तरी क्षेत्रका २७ वटा गाविसमा नेपालबाट विद्युत् वितरण हुँदै आएको छ ।