म्याग्दीमा सशस्त्र द्वन्द्वको समयमा घाइते, सम्पत्ति क्षति, अङ्गभङ्ग र विस्थापित भएका द्वन्द्वपीडितले अझैसम्म पनि राहत पाउन सकेका छैनन् ।
छैसट्ठिऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पारेर द्वन्द्वपीडित साझा चौतारीको आयोजना र न्यायका लागि द्वन्द्वपीडित समाज म्याग्दीको समन्वयमा बेनीमा सम्पन्न द्वन्द्वपीडित र सरोकारवालाबीचको अन्तरक्रियामा पीडितले हालसम्म राहत, क्षतिपूर्ति र न्याय पाउन नसकेको गुनासो गरेका हुन् ।
तत्कालीन विद्रोही र सरकारी सुरक्षा फौज पक्षबीच २०६० चैत ७ गते भएको म्याग्दी आक्रमणमा परी शारीरिक अङ्गभङ्ग भएका, सम्पत्ति गुमाएका र विस्थापित भएका पाँचजनाभन्दा बढी द्वन्द्वपीडितले अझै राहत नपाएको बताइएको छ ।
आक्रमणमा परेका मृतक र बेपत्ताका परिवार गरी ९८ जनाले रु तीन लाखका दरले राहत पाइसकेका छन् भने अङ्गभङ्ग भई द्वन्द्वपीडित बनेकाले अरूले पटकपटक राहत पाए पनि आफूहरुले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् ।
त्यसैगरी उनीहरुले द्वन्द्वपीडितलाई स्थानीय निकायमा आउने लक्षित वर्गको अनुदानभित्र पार्नुपर्ने मागसमेत गरेका छन् । कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया र द्वन्द्वको पीडामा न्यायको सवाल विषयमा छलफल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले द्वन्द्वपीडितको पक्षमा स्थानीय प्रशासन संवेदनशील रहेको भन्दै राहत नपाउनेका लागि सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो ।
म्याग्दीमा द्वन्द्वपीडितले अझै राहत पाएनन्






