दलहरुबीच छ प्रदेशमा सहमति

Senior leaders of major political parties during a meeting of the Political Dialogue and Consensus Committee (PDCC) under the Legislature Parliament chair by Dr Baburam Bhattarai held on Sunday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौं, २३ साउन । प्रमुख दलका शीर्ष नेताहरुबीच सीमाङ्कनको विषयमा केही फरक मत भए मोटामोटी छ प्रदेश बनाउन सहमत भएका छन् । प्रमुख दलका शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सो कुराको जानकारी दिनुभएको हो । दलहरुबीच रुकुम, नवलपरासी र बागलुङलाई टुक्राएर फरकफरक प्रदेशमा राख्ने विषयमा अन्तिम छलफल भइरहेको बताइएको छ ।
शीर्ष नेताले सहमति भएका विषयलाई सहमतिका रुपमा र असहमति कायम रहेका विषयलाई छलफल गर्न बाँकी विषयका रुपमा प्रतिवेदन तयार गरी संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पेस गर्न सहमत भएका छन् । उपसभापति पौडेलले भन्नुभयो, “छ प्रदेश बनाउने मोटामाटी रुपमा तयार पारिएको प्रस्ताव संवाद समितिमा लैजाने सहमति भएको छ । अरु विषय छलफलको क्रममा रहेका छन् । विवादित विषयलाई निरन्तर छलफल गरेर टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिले काम गर्नेछ ।’’
दलहरुबीच धर्म निरपेक्षता राख्ने कि धार्मिक स्वतन्त्रता राख्ने, मत प्रतिशत सीमा कति राख्ने भन्ने विषयमा विवाद जारी छ । यस्तै संवैधानिक अदालत, नागरिकताका विषयमा पनि दलहरुबीच पूर्णरुपमा सहमति हुन सकेको छैन ।
यस्तै प्रारम्भिक मस्यौदामा रहेका केही विषयहरु संविधानमा लेख्नु नपर्ने र कानुन बनाएर नियमन गर्नु नै उपयुक्त हुने विषयमा छलफल जारी रहेको उपसभापति पौडेलले जानकारी दिनुभयो । संवाद समितिको बैठक साँझ ८ बजेका लागि तोकिएकामा यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन । नेताहरुले समितिको बैठक बस्ने जानकारी दिएका छन् ।