काठमाडौं, २० साउन । साउन मसान्तभित्रै संविधान जारी गर्ने कसरतमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बुधबार पनि छलफलमा व्यस्त भएका छन् । बुधबार साँझसम्म विवादित विषयमा सहमति जुटाउने भन्दै नेताहरु अन्तिम कसरतमा लागेका हुन् । प्रमुख दलका शीर्ष र दोस्रो तहका नेताहरु पनि विवादित विषयमा सहमति जुटाउन वार्ता र छलफलमा व्यस्त छन् ।
नेताहरुले बुधबार बेलुकासम्म विवादित विषयमा सहमति जुटाएर विहीबार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा प्रतिवेदन बुझाउने बताएका छन् । सिंहदरबारमा जारी बैठकमा सीमांकनसहितको संघीयताका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । नेताहरुले धेरै विषयमा सहमति भइसकेको बताएका छन् ।
प्रदेशको नामांकन र सीमांकन पछि गर्ने गरी १६ बुँदे सहमति गरेका दलहरु जनताको सुझाव पाएपछि भने सीमांकनको टुंगो अहिले नै लगाउने गरी छलफलमा बसेका हुन् । नेताहरुले सीमांकनको कुरा अहिले नमिले पनि संविधान जारी गर्न नरोकिने बताइरहेका छन् । प्रदेशको संख्या घटाउने, सीमांकनमा कुरा नमिले पनि संविधान जारी गर्न नरोक्ने, धर्मनिरपेक्षताको ठाउँमा सबैलाई चित्तबुझ्दो शब्द राख्ने, नागरिकतामा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
सीमांकन टुंग्याउने कसरतमा नेताहरु






