रहेनन् आरपी ‘लादाराम’

काठमाडौं– कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ। उनको ४२ वर्षको उमेरमा विराटनगरस्थित निवासमा निधन भएको हो।

भट्टराई लामो समयदेखि सुगर र प्रेसरबाट पीडित थिए। साथै पछिल्लो समय अत्यधिक मोटाइका कारण उनी चिन्तित थिए। चार दिन दिनअघि आरपी काठमाडौंबाट विराटनगर गएका थिए। दर्जनौं नेपाली फिल्म र टेलिसिरियलमा काम गरेका आरपी तितोसत्यको ‘लादालाम’को भूमिकाबाट चर्चित भएका थिए। उनले गीति एल्बम पनि निकालेका थिए।

बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । बेलुकी खाना खाएर सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।

पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो ।

उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युट्युवमा सार्वजनिक भएको थियो ।