गुल्मी र स्याङ्जाको सिमानामा रहेको शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । गएको वर्षामा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो ।
पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न ‘कालीगण्डकी ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब रु ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गएको असार पहिलो साता आएको बाढीले भत्काएपछि अहिले यहाँ पर्यटक आउनै डराउने गरेको शिलाका पुजारी हरि पराजुलीले बताउनुभयो । “त्यसै त परिक्रमास्थल बनाउँदा शिलाको दुई तिहाइ भाग जमिनमुनि दबेको थियो” पराजुलीले भन्नुभयो । भगवान् विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रम गरेमा मनोकामना पूरा हुने विश्वास गरी हरेक दिन ५०० भन्दा बढी तीर्थालु आउने गरेकामा त्यो अहिले शून्यमा परिणत भएको पुजारी पराजुली बताउनुहुन्छ ।
कालीगण्डकी ए जलविद्युत् परियोजनाको बाँधका कारण जलाशयमा परिणत भएको कालीगण्डकीकोे पानीले अधिकांश भाग पुरिएपछि स्थानीयले परियोजनालाई शालिग्राम शिला संरक्षण गर्न माग गरेका थिए । शिला परिक्रमा गर्न मिल्ने गरी परिक्रमास्थल निर्माणका लागि ग्याभिन जालीले घेरेपछि शिलाको दुई तिहाइ भाग जमिनमुनि दबेको हो । “पहिला शिला निकै ठूलो थियो, यहाँ आउने पर्यटक पनि शिला हेरेर छक्क पर्थे,” स्थानीय शालिग्राम उच्च माविका प्राचार्य अशोकसिंह पाण्डेले भन्नुभयो, “ग्याभिन जाली लगाएपछि भएको पनि पुरियो ।” अहिले परिक्रमास्थल भत्किएपछि शिला हेर्न भनेर आएका पर्यटक त्यसै फर्किने गरेको उहाँले बताउनुभयो ।”
पर्वत, गुल्मी र स्याङ्जा तीन जिल्लाको सिमानामा भएकाले पनि यस क्षेत्रको संरक्षणमा कुनै जिल्लाले पनि खासै चासो नदिएको स्थानीयले बताएका छन् । “गएको वर्षामा बजारमै बाढी आएर ज्यान जोगाउनै मुस्किल भयो,” सेतीबेनी बजारका प्रकाश भट्टराईले भन्नुभयो, “पर्वतबाट केही राहतमूलक कार्यक्रम र उद्धार भयो, स्याङ्जा र गुल्मीबाट त आश्वासनसमेत पाइएन ।” बजारक्षेत्रमा रहेको करिब ३०० घरका बासिन्दा हरेक वर्षाका चार–पाँच महिना त्रासमै रात काट्ने गरेको बजार संरक्षण समितिका अध्यक्ष विष्णु न्यौपानेले बताउनुभयो ।
भत्किएको परिक्रमा मार्ग मर्मतका लागि आवश्यक रकम बिनियोजन भइसकेको भन्दै परियोजनाका प्रमुख अवधेसकुमार सिंहले स्थानीयले सक्रियता देखाए मर्मत गर्न समय नलाग्ने जनाउनुभयो । यहाँ नेपालभित्रैका पर्यटकसँगै भारत तथा अन्य देशबाट समेत हिन्दूमार्गी आउने गरेको शिला व्यवस्थापन समितिले जनाएको छ । शिलाको दर्शनसँगै झन्डै डेढ घन्टाको जलयात्रामा मनोरञ्जन लिनका लागि यहाँ पर्यटक बढी आउने गर्छन् । कालीगण्डकी जलविद्युत् परियाजनाले निर्माण गरेको बाँधका कारण बनेको जलाशयमा झन्डै डेढ किलोमिटर दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ । पर्यटकको आवागमनलाई निरन्तरता दिन पनि शिलाको संरक्षणको खाँचो रहेको स्थानीय बताउँछन् ।
विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा






