तब्बुको रहस्यमय जीवन

Tabbu__683956131
मुम्बई: अजय देवगणले आफ्नो चलचित्रमा समकालीन नायिकालाई नै स्थान दिएका छन्। उनकी पुरानी मित्र तब्बु नयाँ चलचित्र ‘दृश्यम्’ मा शीर्ष भूमिकामा देखा पर्दैछिन्। ४३ वर्ष कटे पनि तब्बुले जीवनसाथी चुनेकी छैनन्।
हालै एक अन्तर्वार्ताका क्रममा तब्बुले आफू सिंगल हुनुमै रमाइरहेको बताएकी छन्। ‘म सिंगल हुँदा गसिप लेख्‍ने र च्यानलमा सम्बन्धका समाचार बनाउनेलाई चाहिँ बेफाइदा होला’, उनले भनेकी छन्, ‘म पार्टी र कार्यक्रममा जाँदा एक्लै आउजाउ गर्छु, त्यसैले उनीहरूको टीआरपी बढाउनमा भने मेरो भूमिका हुँदैन।’
 तर उनको सम्बन्धको बारेमा गसिप नभेटे पनि कहिलेकाहीँ सञ्चारमाध्यमले उनको एक्लो जीवनलाई रहस्यपूर्ण भन्दै समाचार बनाइदिन्छन्। ‘तर, मेरो जीवनको बारेमा जतिसुकै खोजीनीति गरे पनि नयाँ कुरा केही भेट्टिँदैन’, उनले बताएकी छन्।
नयाँ चलचित्र ‘दृश्यम्’मा उनलाई रिसाहा प्रहरी अधिकृतका रूपमा देखाइएको छ। जीवनमा कहिल्यै पनि यस्तो भूमिकामा अभिनय नगरेकाले यो चलचित्रलाई करिअरमै महत्‍वपूर्ण रूपमा हेरेको उनले बताएकी छन्।
‘यो मेरो करिअरकै शक्तिशाली भूमिका हो’, उनले भनेकी छन्, ‘चलचित्र छायांकनपछि म सोच्थेँ, वास्तविक जीवनमा पनि यस्तो भूमिका निर्वाह गर्न पाए ?’ तब्बुले अजयका ‘विजयपथ’, ‘तक्षक’ र ‘हकिकत’ गरी तीन चलचित्रमा अभिनय गरिसकेकी छन्।

 लामो समय काम गर्दा पनि आफ्ना मित्र अजयमा कुनै परिवर्तन नदेखेको उनले टिप्पणी गरेकी छन्। ‘दृश्यम्’ सन् २०१३ मा मलायलम भाषामा बनेको चलचित्रको रिमेक हो। यसमा अजय र तब्बुका साथमा श्रीया शरण र रजत कपुरले पनि अभिनय गरेका छन्।