फ्रि भिसा र टिकटका विषयमा श्रम मन्त्रालयसँग भएको ३१ बुदेँ सहमतिको विषयलाई लिएर नेपाल वैदेशिक रोजगार संघमा हंगामा मच्चिएको छ। सहमतिको पक्षमा र विपक्षमा व्यवसायीहरु दुई कित्तामा विभाजित भएका छन्। नयाँ नेतृत्व चयन भएको एक महिना नपुग्दै संघमा अध्यक्ष र महासचिव हटाउन चलखेल शुरु भएको छ । ढकाल संघको अध्यक्षमा गत असार १८ गते विजयी भएका थिए ।
म्यानपावर व्यवसायी दुई कित्तामा :विमल ढकाल र रोहन गुरुङलाई हटाउन चलखेल
संघमा रहेका ६ सय ६३ जना व्यवसायीमध्ये ३ अहिलेसम्म ३ सय ७२ जनाले फ्रि भिसा र टिकटको विषयमा असहमति जनाएका छन्। उनीहरुले अध्यक्ष विमल ढकाल र महासचिव रोहन गुरुङको राजीनामा माग गर्दै हस्ताक्षर अभियान शुरु गरेका छन् । अध्यक्षमा पराजित भएका किरण किशोर घिमिरेले अहिले ढकाल र गुरुङको राजीनामा माग गर्दै हस्ताक्षर अभियान चलाएका छन् ।
उनीहरुले विशेष साधारणसभा बोलाउन दुई तिहाइ सदस्यको हस्ताक्षर अभियान शुरु गरेका हुन्। घिमिरेले सेतोपाटीसँग कुरा गर्दै, फ्रि भिसा र टिकटमा व्यवसायीको आन्दोलन ऐतिहासिक भएता पनि अन्तिम समयमा आएर ढकाल र गुरुङ आफूहरुलाई खबर नै नगरी सरकारसमक्ष झुकेको आरोप लगाए ।
एकलौटी रुपमा ढकालले फ्रि भिसा र टिकटका विषयमा पुनरावेदन अदालतमा मुद्दा हालेको र त्यसबाट पराजित हुनु परेको उनले बताए । आफूहरुले साथ दिदाँ दिदैँ ढकालले धोका दिएको उनले आरोप छ ।
विशेष साधारणसभा बोलाएर अध्यक्ष र महासचिवलाई हटाउने अभियानमा आफूहरु लागेको उनले स्वीकार गरे। अहिलेको नेतृत्वले म्यानपावर व्यवसाय धरासायी बन्ने उनको दाबी छ । हस्ताक्षर अभियानमा संघका पूर्वअध्यक्ष हशंराज वाग्लेले पनि साथ दिएका छन् ।
सरकारले फ्रि भिसा र टिकटको निर्णय लागू गरेपछि व्यवसायीले आन्दोलन शुरु गर्नु नै गल्ती रहेको वाग्लेले बताए । ‘कि आन्दोलन गर्नु हुन्थेन, कि गरेपछि सशक्त गर्नु पर्दथ्यो त्यो अहिलेको नेतृत्वबाट भएन,’उनले भने । आन्दोलनका नाममा अध्यक्ष र महासचिवले हजारौं मानिस सडकमा उतारेर म्यानपावर व्यवसायको इजजत फालेको उनले आरोप लगाए ।
‘सरकारसँग लड्न नितिगत रुपमा जानुपर्दथ्यो त्यसो भएन’, उनले भने । सहमतिका नाममा सरकारसँग घुँडा टेक्न जानु बेइमानी भएको उनको भनाइ थियो । ३१ बुँदे सहमतिको ३ नम्बर बुँदा पनि महासचिवले गुरुङले ४७ म्यानपावरलाई सिध्याउने रणनितीमा लागेर गरेको उनले आरोप लगाए ।
३१ बुँदे बुदाँमा नक्कली भनि कागजपत्र पेश भएका बाहेकका इजाजत पत्र वालासंस्थाको कारोबारमा कैफियत देखिएमा पछि ठहर भए बमोजिम हुने गरी काम कारबाही फुकुवा गर्ने उल्लेख छ । ढकाल र गुरुङलाई हटाउन असन्तुष्ट समूहले नसक्ने ढकाल निकटका व्यवसायीहरुले बताएका छन् ।






