लण्डन — नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट उत्पन्न मानवीय संकटका बीच बेलायतस्थित साउथ वेस्ट नेपाली समाज यूके ले मातृभूमिप्रति ऐक्यबद्धता जनाउँदै £5,000 (पाँच हजार पाउन्ड) नेपाली रुपियाँ १० लाख ३५ हजार प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।
समाजको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। समाजका अध्यक्ष किसान जीसी का अनुसार निर्णयसँगै सो रकम आजै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिइएको छ।
उक्त सहयोग रकम कुनै एक व्यक्तिको नभई साउथ वेस्ट क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, बुबाआमा तथा समाजका सदस्यहरूको सामूहिक योगदानबाट संकलन गरिएको हो। उनीहरूको रगत–पसिना र मेहनतबाट जुटेको सामाजिक कोषबाट विपत्तिमा परेको मातृभूमिलाई सहयोग गर्न पाउनु आफ्नो कर्तव्य भएको समाजले जनाएको छ।
समाजले यस सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। साथै, बैठकमा उपस्थित भई महत्वपूर्ण निर्णयमा योगदान दिने कार्यसमितिका सबै सदस्यहरूलाई पनि विशेष धन्यवाद दिइएको छ।
यसैबीच, समाजले अझै पनि व्यक्तिगत रूपमा सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई प्रधानमन्त्री राहत कोषको आधिकारिक खातामा सिधै सहयोग गर्न अनुरोध गरेको छ।
“दुःखमा परेको देशलाई सहयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो, सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ,” समाजले जनाएको छ।






