लन्डन । बेलायतस्थित तमुधिं यूकेले गोर्खा कप फुटबल प्रतियोगिताको २४औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आइतबार मिचेटस्थित तमुधिं यूकेको भवनमा आयोजित पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताका सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरूको परिचय गराएका थिए भने अध्यक्ष गुरुङले खादा लगाई स्वागत गरेका थिए । स्पोर्ट्स सेक्रेटरी तथा गोर्खा कप २०२६ का संयोजक क्या. दीपक घलेले पत्रकारहरूलाई प्रवेश कार्ड प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा संयोजक घलेले पावरपोइन्ट प्रस्तुतिमार्फत प्रतियोगिताको समग्र तयारीबारे जानकारी दिएका थिए । उनका अनुसार गोर्खा कप आगामी २४ मेमा अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा आयोजना हुनेछ!
यसपटक प्रतियोगितामा कुल ५६ टिमले सहभागिता जनाउने भएका छन् । जसमा ३८ पुरुष, १६ भेट्रान्स र २ महिला टिम सहभागी रहनेछन् । खेल बिहान ९ बजेबाट सुरु भई राति ८ बजेसम्म सम्पन्न गर्ने योजना छ ।
यस वर्ष पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । पुरुषतर्फ विजेता टिमले ३ हजार ५०० पाउन्ड, १५ वटा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ हजार पाउन्डसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । भेट्रान्सतर्फ विजेताले १ हजार ८०० र उपविजेताले १ हजार २०० पाउन्ड प्राप्त गर्नेछन् ।
यसैगरी, महिलातर्फ विजेतालाई ६०० पाउन्ड तथा उपविजेतालाई ४०० पाउन्ड नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता स्थलमा १९ वटा रेस्टुरेन्ट, २ वटा बबल टी स्टल, १७ वटा च्यारिटी स्टल, ३८ वटा लत्ताकपडा पसल, ४६ वटा विज्ञापन स्टल, ३ वटा आइसक्रिम भ्यान तथा १ वटा केक सप रहने जानकारी दिइयो ।
यस वर्ष दर्शकको मनोरञ्जनका लागि विभिन्न नयाँ आकर्षणहरू थप गरिएको छ । जसमा बेलुन वाल, जेट प्लेन, डट गेम तथा फेरिस ह्विल प्रमुख रहेका छन् ।
कार्यक्रममा ड्रोन तथा मदिरा निषेध गरिएको जानकारी पनि दिइएको थियो ।
यसैबीच, स्कटल्यान्ड अन्डर–१५ टोलीकी खेलाडी मेलिसा रेग्मीको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ ।
प्रवेश शुल्क प्रतिव्यक्ति ५ पाउन्ड तोकिएको छ भने कार पार्किङका लागि ५ पाउन्ड, मिनीबसका लागि १० पाउन्ड र कोच पार्किङका लागि १५ पाउन्ड शुल्क निर्धारण गरिएको छ । आयोजकका अनुसार २२ हजार टिकट छापिएको छ र टिकट अनलाइनमार्फत पनि खरिद गर्न सकिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार पाउन्ड हराहरीमा खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनको अन्त्यमा सहभागी टिमहरूको ड्र गरिएको थियो । हिराप्रसाद गुरुङ, कुमार घले, क्या. देव घले तथा दिवान गुरुङले संयुक्त रूपमा टिम ड्र सम्पन्न गराएका थिए ।
कार्यक्रममा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । पत्रकारहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित पदाधिकारीहरूले जवाफ दिएका थिए ।





पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले प्रायोजक, सञ्चारकर्मी, सहयोगी तथा संस्थाका पदाधिकारीप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा उपस्थित हुन सबैलाई आग्रह गरे । कार्यक्रममा आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूहलाई ४० थान मफलर हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरू कमल गुरुङ, हरि गुरुङ, ज्ञाम गुरुङ, हितकाजी गुरुङ, रामचन्द्र गुरुङ (सूर्जे), ट्रष्टी सूर्य गुरुङलगायत विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमस्थलमा मदिरा सेवन, ड्रोन उडाउन तथा हतियार बिक्री–वितरण वा बोकेर प्रवेश गर्न निषेध गरिएको छ ।






