शिब भण्डारी
लण्डन ।पिटरबरो नेपाली सोसाइटीको ’ स्टाफोर्ड कम्युनिटी सामुदायिक हल सञ्चालनमा आएको छ ।
सोमबार बेलायतका लागि नेपाली कार्यबहाक राजदूत विपिन दवाडी,पिटरबरो सिटी काउन्सिल मेयर जुडी फक्स, स्थानीय सांसद लगायत बेलायतका विधिन्न सहरबाट आएका नेपाली सामाजिक संस्थाका प्रमुखहरूको उपस्थितिमा हल भब्य रुपले उद्घाटन गरिएको हो ।
सन् २००७ मा स्थापना भएको पिटरबरो नेपाली समाजले ‘स्टाफोर्ड कम्युनिटी हल’लाई एक सय वर्षका लागि लिजमा लिएर पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको हो। हाल उक्त भवनलाई नेपाली कम्युनिटी हलका रूपमा चिनिन थालिएको छ।
उद्घाटन समारोह बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दवाडी, पिटरबरो सिटी काउन्सिलकी मेयर जुडी फक्स, स्थानीय सांसद तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रमुख अतिथि विपिन दवाडीले नेपाली समुदायले सबै समुदायका लागि उपयोगी हुने गरी हल सञ्चालनमा ल्याएकोमा प्रशंसा गर्दै यसको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरे।विशेष अतिथि एनआरएन युके अध्यक्ष राजेन्द्र पुडासैनीले पिटरबरो नेपाली समाजले आफ्नै हल सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गरे।त्यसैगरी मेयर जुडी फक्स तथा काउन्सिल लिडर सविना कायमले पनि नेपाली समुदायको पहलको सराहना गरेका थिए।
समाजका अध्यक्ष विष्णु थापाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा ट्रष्टी डा. राजु सापकोटाले संस्थाका गतिविधिहरू बारे जानकारी दिएका थिए भने इञ्जिनियर घनश्याम पौडेलले हल मर्मत तथा स्तरोन्नतिका कार्यबारे प्रकाश पारे। ट्रष्टी संयोजक तथा पूर्व अध्यक्ष केशव खतिवडाले काउन्सिलबाट हल प्राप्त गर्न करिब दुई वर्षसम्म विभिन्न प्रक्रिया पूरा गर्नुपरेको उल्लेख गर्दै समाजको सक्रिय सामाजिक योगदानकै आधारमा विश्वास जित्न सफल भएको बताए।
हल सञ्चालन समितिका संयोजक महेश अधिकारीले कानुनी प्रक्रिया र सञ्चालन संरचनाबारे जानकारी गराएका थिए। कार्यक्रममा इटालियन समुदाय, घाना समुदाय,भारतिय हिन्दु समाज लगायतका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।
मिडल्याण्ड क्षेत्रका विभिन्न नेपाली संघ–संस्थाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा साझा नेपाली समाज संस्थापक अध्यक्ष्य शंकर भण्डारी वर्तमान अध्यक्ष नारायण फुयाल, एनआरएनए अभियन्ता दयानिधि सापकोटा,हाम्रो नेपाली समाजकी अध्यक्ष लक्ष्मी खराल,शान्ति नेपाली समाजका अध्यक्ष रामप्रसाद न्यौपाने ग्रान्थाम नेपाली समाजका सल्लाहकार कमल भण्डारी लगायतले नयां वर्ष शुभकामना दिंदै संस्थाको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा श्रृजनशील नेपाल समाज लेस्टर,शान्ति नेपाली समाज,हाम्रो नेपाली समाज उल्भरहयाम्पट,नटिङगहम नेपाली समाज.ग्रान्थाम नेपाली समाज लगायतका प्रतिनिधिहरूले पनि बधाई तथा शुभकामना दिएका थिए।

उक्त हलको निर्माण तथा व्यवस्थापनमा अध्यक्ष विष्णु थापा, ट्रष्टी संयोजक केशव खतिवडा,महेश अधिकारी, घनश्याम पौडेल, डा. राजु सापकोटा, किरण कार्की,केशव भण्डारी,सिएम खरेल,अर्जुन भण्डारी, भक्त विश्वकर्मा,रवि आचार्य, युवराज ढकाल, लव शर्मा, निरञ्जन सेढाईं लगायत अगुवाहरूले हल निर्माणको लागि विगत तीन वर्षदेखि विभिन्न जिम्मेवारी लिएर काम गर्दै आएका थिए ।

पिटरवोरो नेपाली समाजका संस्थापक अध्यक्ष समिप हांबांग,पूर्व अध्यक्ष किरण कार्की,महेश अधिकारी,केशव भण्डारी,पवन शर्मा,शिव भण्डारी,भरत पाण्डे,हरिहर भट्टराई,केशव खतिवडा लगायत पूर्व पदाधिकारीहरू एवं संस्था स्थापना लागि योगदान पुराउनु भएका पिटरवोरोका पुराना वासिन्दा विके पाण्डे ,शीव पौडेल, बाबुराम धिताल, गोविन्द वेलवासे, कपिल खड्का लगायतको समाजलाई यो स्थानमा ल्याउन विशेष योगदान रहेको छ ।

पहिलाकै भवनलाई मर्मत तथा स्तर उन्नति गरिएको यहाँ अहिले तीनवटा हल रहेको छ । यी हलमा सांस्कृतिक कार्यक्रमदेखि बैठक, योगा, ध्यान, खेलकुद, तालिम लगायत कार्यक्रमहरू गर्न सकिन्छ । पिटरबरो नेपाली सोसाइटीको वेभसाइट https://pnsuk.org/ बाट शुल्क तिरेर हल बुकिङ गर्न सकिनेछ।
नेपाली समुदायको एकता र सक्रियताबाट सम्भव भएको यो पहलले पिटरबरोमा नेपालीहरूको पहिचान थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।संस्थाका सचिव देवी गौतमले सञ्चालन गरेको कार्यक्रम हल उद्घाटन तथा नयाँ वर्ष शुभकामना साँझ गरी दुई चरणमा गरिएको थियो ।


कार्यक्रमको दोस्रो चरणमा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सांस्कृतिक साँझ आयोजना गरिएको थियो। कार्यक्रममा बेलायतमै रहेका कलाकार आलेश नेपाली तथा नेपालबाट आएका कलाकार सोनी कुवर क्षेत्रीले गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै स्थानीय कलाकारहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए






