लण्डन । बेलायतस्थित सक्रिय सामाजिक संस्था नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी ) यूकेले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘शुभकामना साँझ’कार्यक्रम गर्ने भएको छ। वर्षेनि नयाँ वर्ष स्वागत गर्दै आएको एनबीसी यूकेले अप्रिल १२(आइतबार) -उल्लासका साथ नयाँ वर्ष महोत्सव मनाउने भब्य तयारी रहेको एनबीसी यूकेका अध्यक्ष समिरनाथ प्याकुरेलले लण्डन नेपाल न्यूज़ डट कम लाई बताए ।
आगामी अप्रिल १२, २०२६ (आइतबार) का दिन ब्लु रुम, २२० हेडस्टोन लेन, ह्यारोमा आयोजना हुने कार्यक्रम साँझ ५:३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख आकर्षण रोचक गीत संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहने छन्।
कार्यक्रममा सहभागीहरूले लाइभ म्युजिक, डिजे तथा नृत्य सत्र, समूहगत सांस्कृतिक प्रस्तुति लगायतका आकर्षक मनोरञ्जनको आनन्द लिन सक्नेछन्। साथै, कार्यक्रमले परिवार तथा साथीभाइसँग भेटघाट, संवाद र सहभोजमार्फत समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको अध्यक्ष प्याकुरेलले बताए ।
सांस्कृतिक र सामुदायिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमले नेपाली समुदायलाई एकै स्थानमा भेला भई रमाइलो गर्ने अवसर प्रदान कार्यक्रम छ। सो कार्यक्रममा सहभागी हुन १३ वर्षमाथिका सहभागीका लागि ४० पाउण्ड तथा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि २० पाउण्ड शुल्क तोकिएको छ।
एनबीसी यूकेले यस कार्यक्रममार्फत संकलित रकमबाट बचत हुने राशि नेपालस्थित चन्द्रागिरि नगरपालिका–१४, नैकापमा रहेको ‘सृजनशील विशेष शिक्षा विद्यालय’ लाई सहयोग गर्ने जनाएको छ। उक्त विद्यालयले अपाङ्गता भएका बालबालिकाको शिक्षा तथा विकासमा योगदान पुर्याउँदै आएको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी भई नयाँ वर्ष मनाउनुका साथै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने अवसर समेत प्राप्त हुने भएकाले समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
सिट संख्या सीमित भएकाले यो लिंकमा गएर समयमै बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् :






