लन्डन ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रस्तावित संविधानको मस्यौदामा राय सुझाव पेस गरेको छ । उक्त सुझाव बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई बुधवार हस्तान्तरण गरिएको छ । संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङसमक्ष बुझाउन नेपाली दूतावासमार्फत् हस्तान्तरण गरिएको शाखाले जनाएको छ ।
शाखाले संविधानको मस्यौदामा स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थामा असहमति राख्दै संशोधनका लागि सुझाव पेश गरेको हो । शाखाले संविधानसभाले नयाँ संविधान निर्माणमा हाँसिल गरेको प्रगतिको स्वागत गरेको छ । कार्यबाहक राजदूत क्षेत्रीले शाखाको तर्फबाट पेश गरिएको राय सुझाव ग्रहण गर्दै सुझाव तत्काल संविधानसभा अध्यक्ष समक्ष पु-याउने बताए ।
शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीले संविधानसभाका अध्यक्षलाई लेखेको सुझावसहितको पत्र बाचन गरेका थिए । शाखाका अध्यक्ष चिरन शर्माले प्रस्तावित संविधानको मस्यौदा संशोधन गरिनुपर्ने बिषयमा प्रकाश पारेका थिए । शाखाले सुझाव हुबहु स्वीकार गरी नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन शाखाले आग्रह गरेको छ । सुझाव पेश गर्न शाखा अध्यक्ष शर्माको नेतृत्वमा पत्रकारहरुको टोली नेपाली दूतावास लन्डन पुगेको थियो । टोलीमा बरिष्ठउपाध्यक्ष खपांगीसहित पार्षदहरु रुपेश सिलवाल, फडिन्द्र भट्टराई, दिनेश परियार, पत्रकारद्वय रञ्जित बस्नेत र नारायण ढुंगाना नेपाली दूतावास पुगेका थिए ।







