गुल्मी, ३१ असार । गुल्मीको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले रेसुङ्गा यज्ञशालामा स्वत उम्रेका गाँजाका बिरुवा नष्ट गरेको छ । धार्मिक क्षेत्र भएको र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उक्त काम गरिएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक नरेश भण्डारीले बताउनुभयो ।
समितिले रेसुङ्गा यज्ञशाला परिसरको दुई रोपनी क्षेत्रमा भएको गाँजाको बोट फँडानी गरेको हो । गाँजालाई भगवान् शङ्करले बिष, भाङ, धतुरो आफूले नखाउ, मलाई चढाउ भने पनि यसलाई मानिसले अपव्याख्या गरेर आफँैले खाने र लतसमेत बसालेर समाजमा विभिन्न नकारात्मक विकृति फैलाउने काममा लागेको मन्दिरका एक पुजारीले बताउनुभयो ।
गाँजाका बोट फँडानी कार्यक्रममा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका सदस्य नन्दराम भुसाल, अखण्ड नेपाल गुल्मीका अध्यक्ष नेत्र बस्नेत, समितिका कार्यकारी निर्देशक नरेश भण्डारीलगायतको सहभागिता रहेको थियो ।
रुरु रेसुङ्गा क्षेत्रका गाँजाका बिरुवा नष्ट गरियो






