लन्डनमा ३०४ औं पृथ्वी जयन्ती मनाउन भरत क्षेत्रीको व्यापक तयारी

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन व्यापक तयारी छ।
जनवरी  ११ आइतबारका दिन मध्यान्ह लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा कार्यक्रम हुने भएको हो ।कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूकेसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अग्रज अभियन्ता, बुद्धिजिवी लगायतलाई आमन्त्रण गरिएको संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले लण्डन नेपाल न्यूज लाई बताए ।

अध्यक्ष भरत क्षेत्रीका अनुसार बेलायतमा नेपालीहरूबीच राष्ट्रियता, एकता र पहिचानको भावना सुदृढ गर्ने उद्देश्यले विशेषतः आयोजना गरिएको हो। उनले विदेशमा बसोबास गर्ने नेपालीहरूले इतिहासप्रतिको सम्मान र मातृभूमिप्रतिको निष्ठा जोगाइ राख्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताएका छन्।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, वक्तृत्व तथा राष्ट्रनिर्माताप्रतिको श्रद्धाञ्जली सहित कार्यक्रम सम्पन्न हुने बताइएको छ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन आग्रह गरेको छ।

क्षेत्रीले सन् २००७ देखि बेलायतमा एक्लो प्रयास र खर्चमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् । तीन वर्षअघि देखि उनले आफ्नै खर्चमा वर्षेनी एकजना बुद्धिजिवीलाई एक लाख रुपैयांको पृथ्वी पुरस्कार प्रदान गर्न समेत शुरु गरेका छन् ।

३०० औं पृथ्वी जयन्तीबाट शुरु गरिएको पुरस्कार पहिलोपटक राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी, दोश्रो पुरस्कार राजनीति विश्लेषक डा. राजेश अहिराज र तेश्रो पुरस्कार पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेत र चौंथो पुरस्कार कमलराज पौडेलले पाइसकेका छन् ।

यसैगरी पाचौ पुरस्कार भने संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले सुर्खेतमा भएको जेनजी आन्दोलनका क्रममा टाउकोमा गोली लागेर दुवै आँखाको ज्योति गुमाएका सन्तोष बोहोरालाई रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

संगठनले हरेक वर्ष गर्दै आएको वार्षिक सम्मान कार्यक्रम नगरी यसपटक जेनजी आन्दोलनका घाइतेलाई आर्थिक सहयोग प्रदान गरेको हो । संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले शिक्षण अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।