बेलायतमा चर्चित सेफ विनोद बरालको म:म:का पाइला धुमधामले सार्बजनिक

लन्डन  ।पोखरामा जन्मिएका चर्चित सेफ विनोद बरालद्वारा लिखित ’म:म:का पाइलाहरु´बेलायतमा विमोचन भएको छ।

बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’ मा विमोचन भएको हो ।

साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने, ‘हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ । यो कृतिमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ । नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने छन् ।’

कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सधैं क्रियाशील भइरहने बताए 

अभियन्ता गुरुङ, उद्यमी वाइबन र राईले पनि कृति सफलताका लागि शुभकामना दिए । कार्यक्रमको आयोजकमा मो: मो फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल थियो ।

बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन् 

जुम्बारा तथा मोमो एण्ड रोटी रेस्टुरेन्टहरुका सह संस्थापक बराल स्कुल अफ हस्पिटालिटीका संस्थापक पनि हुन्। सन् २०२२ मा कतारमा अयोजित फिफा विश्व कपमा खेलाडीहरुलाई खाना बनाएर खुवाएका उनी ‘ग्लोबल गुडविल एम्बेसडर’ पनि बनेका थिए।बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन् ।