अमेरिकामाथि नेपालको सनसनीपूर्ण जित

काठमाडौं, आषाढ २६ । आइसीसी विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको छनोटमा नेपालले सुखद सुरुआत गरेको छ । आयरल्याण्डको बेलफास्ट मैदानमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हरायो । अमेरिकाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय पारी खेले । नेपालले पहिलो विकेट भने सुरुआतमै गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत ४ रनमा आउट हुँदा नेपालको स्कोर ६ रन थियो ।
तर, अनिल मन्डल र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै नेपालको स्थिति मजबुत पारे । अनिल २९ रनमा पवेलिएन फर्किए । ज्ञानेन्द्रले ४३ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । कप्तान पारस खड्का २१ र शरद भेषवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए ।
यसअघि, पहिले ब्याटिङ गरेको अमेरिकाले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अमेरिकाले ‘पावर प्ले’मा राम्रो रन जोडेको थियो ।
६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, अकिम डोट्सन र फहद बाबर बाहेक उसका अरु ब्याट्सम्यान क्रिजमा टिकेनन् । अमेरिकालाई सस्तैमा समेट्नेक्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३–३ विकेट लिए भने सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट झारे । शक्ति गौचन म्यान अफ द म्याच घोषित भए ।