गोर्खा कपको तयारी पूरा, ५० टिमको भिडन्त हुँदै

लन्डन । गोर्खा कपको २३ औं संस्करण तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक तमुधिं यूकेले शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत २५ मे आइतबार हुन गइरहेको गोर्खा कपको तयारीबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले बिहान ९.३० बजेबाटै खेल शुरु भई सांझ ८ बजे समापन हुने जनाए । उनले यसपटक मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानमा १६ र दुई महिला टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने घलेले जनाए।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपमा सहभागिताका लागि समस्त बेलायतवासी नेपालीलाई अपिल गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एस के गुरुङले सञ्चारकर्मीहरुको परिचय गराएका थिए । संस्थाका अध्यक्ष गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले सञ्चारकर्मीलाई टोकन अफ लभसहित सम्मान गरे ।

टिम ड्र संयोजक हिराबहादुर गुरुङ, सहसंयोजक कुमार घले र सल्लाहकार कुमार गुरुङले टिम ड्र गराएका थिए । अध्यक्ष गुरुङ, गोर्खा कप संयोजक दीपक घले, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ लगायतले ड्र गरेका थिए ।

सो अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा ट्रष्टी हितकाजी गुरुङ, ट्रष्टी एवं संस्थापक कोषाध्यक्ष सूर्य गुरुङ, सल्लाहकारहरु क्याप्टेन राजु गुरुङ, मेजर टेमबहादुर गुरुङ, ले. चन्द्र गुरुङ, डेभिड गुरुङ, धनकाजी गुरुङ, श्रीमति हुमकुमारी गुरुङ, सल्लाहकार एवं आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङ, गोरे गुरुङ, लोक गुरुङ, मेजर कृष्ण गुरुङ, एबी गुरुङलगायतलाई अध्यक्ष गुरुङले सम्मान गरेका थिए ।

हर्क गुरुङ प्रतिष्ठानका तर्फबाट लोक गुरुङले अध्यक्ष गुरुङलाई प्रमाणपत्र प्रदान गरेका थिए । आजीवन सदस्यलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

साथै, आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूह अध्यक्ष गुरुङलाई १० वटा टिसर्ट र ७ टोपी हस्तान्तरण गरेकी थिइन् । यशोदाले गत वर्ष ४० वटा टिसर्ट प्रायोजन गरेकी थिइन् ।

उक्त अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्षहरु रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हरि गुरुङ तथा सल्लाहकारहरु सूर्य गुरुङ, ले. रि. चन्द्रबहादुर गुरुङ, दिलरास गुरुङ, डेभिड गुरुङ, पुनम गुरुङ लगायतको पनि उपस्थिति थियो ।