लन्डन । बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर निर्वाचित भएका छन् । ननिटनको काउन्सिल हलमा सम्पन्न निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारू मेयरमा निर्वाचित भएका हुन्।
लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत पाए । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए।

क्याप्टेन सारूले काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनीयताको शपथ लिए ।उनलाई निवर्तमान मेयर बिल ह्यानकक्सले पद हस्तान्तरण गरेका थिए ।
शपथग्रहण पछि मेयर क्याप्टेन सारूले बेलायतमा मेयरको रूपमा सेवा गर्ने अवसर दिएकामा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई धन्यवाद दिए ।बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने उनले बताए ।
को हुन् सारु ?
पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माथागढी गाउँपालिका–१ मा जन्मेका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेका हुन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए । झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष समेत हुन् । सारु, रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रुपमा सेवा निवृत भएका थिए।
बेलायतमा सन् २०१७ देखि ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइ रहेका सारु सफल व्यवसायी मात्रै नभएर समाजसेवी समेत हुन् ।






