
काठमाडौँ, २४ असार । भूकम्पपीडितको सहयोगका लागि भारतको आइएल एन्ड एफएस ट्रान्स्पोर्टेसन, इत्तिहाद एअरवेज र मेडिकल वुमन्स् अर्गनाइजेसन क्यानाडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
आइएल एन्ड एफएसको रु पचहत्तर लाख सहयोग
भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यमा सघाउनका लागि भारतको इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिस ट्रान्सपोर्टेसन नेटवर्क लिमिटेड (आइएल एण्ड एफएस)ले रु ७५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।
इत्तिहादले दियो रु ७४ लाख
संयुक्त अरब इमिरेट्सको अबुधाबीमा मुख्यालय रहेको इत्तिहाद एअरवेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७४ लाख ३९ हजार ४२ रुपैया ६५ पैसा प्रदान गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एअरवेजको नेपालस्थित कार्यालयका महाप्रबन्धक पावना श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा एअरवेजका शरदचन्द्र काफ्ले, कोमलराज अधिकारी र रमेश खड्गीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सहयोग गर्न आएको रकम दुरुपयोग हुन नदिने बताउनुभयो । “म यसको सदुपयोग गर्न सकियोस् भनेर लागेको छु” – प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
मेडिकल वुमन्स क्यानाडाको रु साढे छब्बीस लाख
भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन क्यानाडामा अवस्थित मेडिकल वुमन्स् इन्टरनेसनल क्यानाडाले २६ लाख ६३ हजार ६९२ रुपैयाँ २० पैसा प्रदान गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका सभापति प्रा डा क्युङ आह पार्कले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा संस्थाका डा जयबहादुर टण्डन, डा आस्थमा राणा, डा लता बज्राचार्य, डा शिला वर्मा र डा किरण रेग्मीको पनि उपस्थिति रहेको थियो ।






