सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुको संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) ले नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई औपचारिक बधाईसंगै स्वागत र सम्मान गरेको छ । अस्ट्रेलियामा पुगेकी शर्मालाई ११ अप्रिल शुक्रवार ग्रान्भिल स्थित फ्लेवर्स अफ नेपालमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघसंग एन्जाले पनि सहकार्य गरेर अगाडी बढ्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी शर्माले राजावादी समुहको आन्दोलनमा भिडियो खिच्न गएका पत्रकार सुरेश रजकको हत्या र सञ्चारसंस्थाहरु माथि भएको आगजनी तथा तोडफोडप्रति घोर आपत्ति र भ्रत्सना गर्दै पत्रकार र सञ्चार संस्था माथि हुने आक्रमण क्षम्य नहुने बताईन् ।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारीले अष्टेलियामा करिब दुई लाख नेपालीको संख्या रहेकोले नेपाली मिडियाको भविष्य निक्कै नै राम्रो भए पनि व्यवसायिक हुन नसकेको भन्दै एन्जाले पत्रकार महासंघ मार्फत नेपाली पत्रकारको सुऱक्षा लगायतका विषयमा सहकार्य गर्ने बताउदै बिगतमा एन्जाले पत्रकार महासंघसँग गरेको समझदारीलाई निरन्तरता दिदै छिटै कार्यन्यनमा ल्याउने बताए । उक्त कार्यक्रमा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई , वरिष्ठ पत्रकार तथा देशान्तर पब्लिकेशनका अध्यक्ष कबिर राणा , पत्रकार सचिन पोखरेल एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, लगायतलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

एञ्जाका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई , वरिष्ठ पत्रकार तथा देशान्तर पब्लिकेशनका अध्यक्ष कबिर राणा , पत्रकार सचिन पोखरेल, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी , एञ्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकारहरु डा. राजु मानन्धर, कानुनी सल्लाहकार डा. सम्शेरसिंङ थापा, डिल्ली ढकाल,पत्रकार प्रदीप तिमिल्सिना लगायतले नेपाली पत्रकारिताको चुनौती, प्रवासमा गरिने समुदायिक पत्रकारिताको योगदान र उजागर गर्नुपर्ने विषयमा आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा एञ्जाका महासचिब गणेश भट्टको स्वागत र सचिव तक्दीर अधिकारीको सञ्चालन रहेको थियो ।







