सिड्नीको लकडाउन अन्त्य भएको घोषणाः अब जनजीवन सामान्य बन्दै

सिड्नी । न्यू साउथ वेल्स राज्यमा लगाइएको लकडाउन अन्त्य भएको छ । कोभिड महामारी बढीरहेको भन्दै राज्य सरकारले करिब तीन महिनादेखि विभिन्न प्रतिबन्धहरु सहितको लकडाउन घोषणा गरिएको थियो । सेनाकै सहयोग लिएर समेत सरकारले लकडाउन पालना गराएको थियो ।

१०० दिन पूरा भएसँगै लकडाउन अन्त्य भएको घोषणा गरिएको हो । राज्यका ७० प्रतिशत मानिसहरुलाई कोभिड विरुद्धको खोप लगाइएको कारण लकडाउन अन्त्य गरेको घोषणा भएको हो । जस अनुसार सोमबारदेखि यहाँका व्यापार व्यवसायहरु खुल्न शुरू गरेका छन् ।

सिड्नीका करिब ५ मिलियन मानिसहरुले आजबाट राहात पाएका छन् । अति नै बढी संक्रामक मानिएको कोभिडको डेल्टा भेयिन्ट फैलिएको कारण लकडाउन लगाइएको थियो ।

पछिल्ले समय संक्रमणदर पनि कम हुँदै गएको छ । वितेको २४ घण्टामा मात्रै ४७७ जना निको भएका छन् ।

भ्याक्सिन लगाएका मानिसहरु अब स्वतन्त्र हुने भएका छन् ।

सिड्नीमा जुन महिनादेखि व्यापार, विद्यालय, सलोन तथा कार्यालयहरु बन्द भएका थिए ।
अब पनि केही प्रतिबन्धहरु भने कायम नै रहेका छन् । अझै पनि भिडभाड गर्न रोक लगाइएको छ । केही हप्ताको लागि अन्तराष्ट्रिय नाका तथा विद्यालयहरु बन्द हुनेछन् । तरपनि जीवन भने सामान्य नै हुने भएको छ ।