लन्डन- स्याङ्जा समाज युकेको वार्षिक साधारण बैठक १९ जनवरी २०२५ का दिन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङको अभिनन्दन गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ संस्थाका संस्थापक अध्यक्ष शरदा गुरुङ, आमा समूहकी अध्यक्ष हुम कुमारी गुरुङ र फस्ट लेडिजद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। महासचिव राम राज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रमलाई संस्थाको उपाध्यक्ष श्रीमती दुर्गा गुरुङले स्वागत मन्तव्य दिँदै उद्घाटन गरिन्।
बैठकमा महासचिव र कोषाध्यक्षले वर्षभरिका प्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको आगामी कार्य योजनाबारे सहभागीहरूबीच बुँदागत छलफल गरिएको थियो।
संस्थाका अध्यक्ष भरत गुरुङले सांसद गुरुङलाई स्वागत गर्दै संस्थाका पदाधिकारीहरूसँग परिचय गराएका थिए। यस अवसरमा संस्थापक अध्यक्ष शारदा गुरुङ, संरक्षक क्याप्टेन प्रेमबहादुर गुरुङ् र आमा समूहकी अध्यक्ष हुम कुमारी गुरुङले माननीय गुरुङप्रति धन्यवाद व्यक्त गर्दै संस्थाले गरेका सामाजिक कार्यहरूबारे संक्षिप्त विवरण प्रस्तुत गरे।
अभिनन्दनपछि मन्तव्य राख्दै सांसद गुरुङले स्याङ्जा समाज युकेको कार्यप्रति प्रशंसा व्यक्त गरिन्। उनले संस्थाले नेपालको विकास र पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ सक्रिय रहन सुझाव दिइन्।
बैठकको अन्त्यमा अध्यक्ष भरत गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए
कार्यक्रममा समाजका संरक्षक डेभिड गुरुङले प्रदेश सांसद सरस्वती गुरुङको बेलायत बसाइको शुभकामना दिंदै खादा लगाएर स्वागत सम्मान गरेका दिए ।






