वार्षिक कार्यक्रममा रमाए चाल्र्टनका नेपाली (भिडियो सहित)

charlton1

लण्डन । चाल्र्टन नेपाली समाजले हरेक वर्ष गर्दै आएको बिबीक्यू कार्यक्रम यसपटक पनि सम्पन्न भएको छ ।

आइतबार स्थानीय मेरिडियन स्पोर्टस क्लबको खुला मैदानमा झण्डै तीन सय सहभागीमाझ बिबीक्यू, भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायत प्रस्तुत गरिएको थियो । त्यसबाहेक पहिलोपटक एक जना चर्चित बेलायती जादुगरको प्रस्तुति समेत रहेको यस वर्षको कार्यक्रममा स्थानीय नीम ट्रि फार्मेसीको सहकार्यमा निशुल्क स्वास्थ्य चेकजांच सेवा पनि दिइयो ।

मौसमका कारण निर्धारित भन्दा केहि घण्टा ढिलो सुरु गरिएको कार्यक्रमको पहिलो चरण औपचारिक थियो । जसको अध्यक्षता समाजका अध्यक्ष रोमनाथ पाण्डे र सञ्चालन सचिव टि एन रिजालले गरेका थिए ।

कार्यक्रममा एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेल, नेपालबाट आएका साहित्यकार वियोगी बुढाथोकी लगायत विशिष्ट अतिथी थिए । त्यस अवसरमा समाजका उपाध्यक्ष टंक कंडेलले स्वागत मन्तव्य दिए भने नेपालमा भुकम्प पीडितको सयोर्थ समाजले वितरण गरेको सहयोगबारे पत्रकार फणिन्द्र भट्टराईले जानकारी गराए । समाजले विगत केहि वर्षदेखि सञ्चालन गरेको लर्न नेपाली प्रोग्रामका स्वयमसेवी शिक्षिकाहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

भलिबल प्रतियोगितामा लण्डनका विभिन्न ४ वटा टोली सहभागी थिए । जसमध्ये स्थानीय चाल्र्टनकै टोली प्रथम र वेस्ट लण्डन दोस्रो भए । विजेतालाई शिल्ड तथा मेडल प्रदान गरियो । अन्तर्राष्ट्रिय अवार्ड वीनर बेलायती जादुगर भिन्स स्पेडको प्रस्तुति बालबालिकासहित सहभागी सबैका लागि मुख्य आकर्षण बनेको थियो । कार्यक्रमको दोस्रो चरणमा विभिन्न सांसकृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

मञ्जु भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा स्थानीय बालबालिका तथा किशोर किशोरीले नृत्य, गीत, कविता लगायत प्रस्तुत गरे । कार्यक्रमको अन्त्यमा डिजे हेम विष्टको डिजेइंगमा सहभागी अधिकांशले कम्मर मर्काए । कार्यक्रमबाट संकलित रकम पनि भुकम्प पीडितका लागि सहयोग गर्ने समाजले बताएको छ । यसअघि समाजले झण्डै ६ लाख रुपिया बराबरको राहत नेपालमा बांडिसकेको छ ।