साउनको दोस्रो साता संविधान : अध्यक्ष ओली

विराटनगर, २० असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गर्नु भयो । उहाँले संविधान बनेर नेपालको सङ्क्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री बन्नुभन्दा पनि जनताबीच नयाँ संविधान दिने आफ्नो पहिलो जिम्मेवारी भएकाले अन्य विषयमा अहिले नसोचेको धारणा प्रकट गर्नुभयो ।