चिली, २० असार । चिलीले पहिलो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार बिहान सान्टियागोमा सम्पन्न फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा हराउँदै घरेलु मैदान र समर्थकको साथ पाएको चिलीले नयाँ इतिहास रचेको हो । खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् र खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरमा अर्जेन्टिनाका गोन्जाले हिगुवान र एभर बानेगा गोल गर्नबाट चुकेपछि चिली ४-१ ले विजयी भयो ।
जितसँगै चिलीले सन् १९५५ मा आफ्नै मुलुकमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग भोगेको हारको मिठो बदला लिएको छ । ६ दशकअघि सम्पन्न उक्त खेलमा चिलीलाई अर्जेन्टिनाले १-० ले हराएको थियो । त्यसपछिका चार फाईनल खेलमा पनि पराजित भएको चिली कोपा अमेरिकाको इतिहांसमा छैठौं पटक फाइनल खेल्दै उपाधि जित्न सफल भएको हो ।
चिलीका लागि यो उपाधि कुनैपनि मूख्य फुटबल प्रतियोगितामा पहिलो उपाधि हो । हारसँगै अर्जेन्टिनाको २२ वर्षदेखिको उपाधि खडेरी टार्ने सपना पूरा हुन सकेन । सन् १९९३ मा कोपा अमेरिका जितेको अर्जेन्टिना त्यसपछि उपाधिविहीन छ । अघिल्लो वर्ष भएको विश्वकप फुटकलको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले आफ्नो मुलुकलाई उपाधि जिताउने सुन्दर अवसर फेरी एकपटक खेर फाले ।
चिलीलाई पहिलो पटक उपाधि






