इग्ल्याण्डको महिला टोली तेस्रो

भ्यानकुवर, २० असार । जर्मनीलाई हराउँदै इंग्लण्डले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थान हात पारेको छ । क्यानडामा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इंग्लण्डले जर्मनीलाई १-० ले हरायो । खेलमा इंग्लण्डलाई विजयी गराउन फरा विलियम्सले अतिरिक्त सयममा पेनाल्टी मार्फत निर्णायक गोल गरिन् ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । जितसँगै इंग्लण्डले महिला विश्वकप फुटबलमा तेस्रो स्थान ओगट्दै अहिलेसम्मकै ठुलो सफलता हात पारेको छ । महिला विश्वकप फुटबलको फाइनल खेलमा सोमबार विहान साविक विजेता जापान र साविक उपविजेता अमेरिका भिड्ने छन् । चार वर्ष अघि जर्मनीमा सम्पन्न फाइनल खेलमा अमेरिकालाई हराँउदै जापानले उपाधि उचालेको थियो ।