सिड्नीमा बृहतर रुपमा अगाडी बढ्दै बहुसांस्कृतिक सामुदायिक भवन अभियान

तक्दीर अधिकारी

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा लामो समयदेखि जारी नेपाली बहुसांस्कृतिक भवन निर्माण अभियान बृहत्तर रुपमा अगाडी बढ्न थालेको छ । नेपाली समुदायको बढ्दो उपस्थितिका बीच बहुउद्धेश्यीय भवन निर्माण अभियानले पछिल्लो समय तीब्रता पाएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको सक्रियता, सिड्नी नेपलिज मल्टिकल्चर सेन्टर, हिन्दु सोसाईटी अस्ट्रेलिया सहित अन्य नेपाली संघसंस्थाहरुको सहभागीतामा २८ अप्रिलमा सम्पन्न एक भेलाले बहुसांस्कृतिक केन्द्र निर्माणका लागि समिति गठन गरेको थियो ।

मल्टिकल्चर सेन्टर सहित विभिन्न संघसंस्थाहरुले यस अभियानलाई अगाडी बढाएको भएपनि तर पछिल्लो समय साझा र सबै क्षेत्रको सहभागीता हुने गरी ग्रेटर सिड्नी नेपलिज मल्टिकल्चर सेन्टरको गठन गरी सोही संस्था मार्फत विभिन्न अभियानहरु अगाडी बढेका छन् । साझा र बृहत संस्थाको रुपमा गठन भएको उक्त संस्थाको विधान संसोधन सहित कागजी कामहरु सकिएको बताईएको छ । पछिल्लो समय भवन निर्माणका लागि अर्थ संकलन सहित प्रस्तावित उद्धेश्यहरु पुरा गर्न महायज्ञ सहित अन्य विभिन्न कार्यक्रम गरेर व्यापक रुपमा अगाडी बढ्ने गरी छलफल अगाडी बढिरहेको ग्रेटर सिड्नी नेपलिज मल्टिकल्चर सेन्टरका प्रवक्ता शिव बञ्जाराले जानकारी दिए ।पहिलो चरणमा भवन निर्माणको लागि उपयुक्त स्थान पहिचान गर्ने र जग्गा खरिद गर्न अर्थ संकलनका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी गरिरहेको संस्थाका अध्यक्ष बिष्णु हमालले बताए । नेपालीहरुबीचको एकता, पहिचान र भावी पुस्तासंग जोडिएको महत्त्वपूर्ण आयोजनामा जुट्न र सबै क्षेत्रबाट सहयोग गर्न एनआरएनए अस्ट्रेलियाले वोर्क फर कमुनिटी मार्फत बिभिन्न कार्यक्रमहरु गर्न लागिएको अध्यक्ष अनिल पोखरेलको भनाइ छ ।

बहुआयामिक, बहुउद्धेश्यीय र दीर्घकालिन महत्वको सामुदायिक केन्द्र निर्माणको अभियानमा सबै नेपालीहरुको सहभागीता र अपनत्व महसुस गराउनका साथै सेन्टरलाई सहयोग पुर्याउन सदस्यता बढवा कार्यक्रमहरु तथा आध्यात्मिक कार्यक्रमको समेत आयोजना गर्न लागिएको छ ।  सिड्नी अस्ट्रेलियामा सबैभन्दा नेपालीहरु बसोबास गर्ने क्षेत्र हो । प्रत्येक वर्ष बढ्दो नेपाली समुदायको जनसंख्यालाई एकताको सुत्रमा बाँध्न र नेपालीहरुका चाडपर्व, धर्म संस्कृती, सनातन परम्परा र संस्कारहरुलाई संरक्षण संवद्र्धन गर्न बहुसांस्कृतिक केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने बताईएको छ । नेपालीहरुबीच आफ्ना चाडपर्व, रितिरिवाज र संस्कृतीहरुलाई एक ठाउँमा भेला भई मनाउने तथा विभिन्न खालका अन्य मेला उत्सवहरु आयोजना गर्न बहुउद्धेश्यीय भवन निर्माण थालिएको जनाइएको छ ।