लण्डन । मगर संघ युकले हरेक वर्ष गर्दै आएको नेपाली ओपन कन्सर्ट यस वर्ष जुन १५ मा मेडिस्टोन केन्टमा हुने भएको छ ।
यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन् ।
कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो ।
सन् २००७ देखि मगर संघ युकेले फार्नब्रो, अल्डरसटमा आयोजना गर्दै आएको सो ओपन कन्सर्ट यसवर्ष केन्टस्थित केन्ट इभेन्ट सेन्टरमा लगिएको छ । कन्सर्टको मिति सारिँदा पहिले गर्दै आएको स्थान उपलब्ध नभएकाले केन्टमा सो कन्सर्ट लानु परेको बताइएको छ ।
कन्सर्टमा राजु लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले साथ दिनेछन् भने अरु कलाकारहरु तय हुन बाँकी रहेको जानकारी दिइएको छ ।
कन्सर्टमा बेलायतस्थित सिक्का ब्यान्ड र केही लोकदोहोरी कलाकारसमेतको प्रस्तुति रहने कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले जानकारी दिए।लाइभ ब्यान्डको प्रस्तुतिमा गायक लामाले प्रस्तुति गर्नेछन्।
कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीहरुलगायत विभिन्न व्यापारिकसमेत ४० बढी स्टल रहनेछन्।
संघले यस वर्ष कन्सर्टमा ४ हजार बढी दर्शक अपेक्षा गरेको छ। तीन सय भन्दा बढी अतिथिहरु निम्त्याइएको छ। मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राती ११ बजेसम सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनकै क्रममा संघकी अध्यक्ष सीता पुन मगरले कन्सर्टको अनलाइन टिकट विक्री शुभारम्भ गरेकी थिइन्।
अनलाइनमा अग्रिम खरिद गर्दा कन्सर्टको टिकट शुल्क ३० पाउन्ड छ। ६५ वर्ष माथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउण्ड छ। अनलाइनमा बिक्री हुने पहिलो १ हजार टिकट भने १० प्रतिशत छुटसहित २७ पाउन्डमा उपलब्ध गराइएको छ। कन्सर्टस्थलमा लिनेहरुलाई ४० पाउन्ड लाग्नेछ।
संघ अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए ।
त्यस अवसरमा कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले कार्यक्रमको हालसम्मको तयारीबारे अपडेट गराएका थिए ।
पत्रकारहरुको जिज्ञासामा अध्यक्ष, उपाध्यक्ष र महासचिवका साथै संघका सचिव गोमान पुन, मिडिया सेक्रेटरी किशोर राना, सांस्कृतिक सेक्रेटरी सरु राना, केन्ट शाखा अध्यक्ष नानीनाबु मगरलगायतले जवाफ दिंदै कार्यक्रमका विविध पक्षबारे जानकारी गराएका थिए।
नेपाली ओपन कन्सर्टमा पहिलो पटक मंगोलियन हर्टका राजु लामा, सिक्का ब्यान्ड लाईभ म्युजिक कन्सर्ट हुने मगर संघ युकेका सांस्कृतिक सचिव तेन्याङ सरु गुरुङ रानाले भनिन्, ‘मगर संघ युकेको गर्विलो इतिहासलाई कायम राख्न १६ औं नेपाली ओपन कन्सर्ट तपाईं हाम्रो दु:ख बिसाउन, नेपाली सांगीतिक तिर्सना मिटाउन कोसिस गरेका छौं । आश एवं विश्वास छ, तपाईंहरुले यो कन्सर्टलाई आफ्नै घरको साझा कन्सर्ट सम्झी हौसलासहित साथ र सहयोग तथा माया गर्दिनुहुनेछ ।’
कन्सर्टमा संगीतबा अलाबा बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन् ।






