इङल्याण्डको यात्रामा पूर्णविराम

टोरेन्टो, १७ असार । इङ्ल्यान्डको आश्चर्यजनक यात्रामा पूर्णविराम लगाउँदै साविक विजेता जापान क्यानाडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा जापानले इङ्ल्यान्डलाई २-१ ले हरायो । खेलको ३३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै जापानकी आया मियामाले टोलीलाई सुरुवाती अग्रता दिइन् । तर यसको ७ मिनेटपछि इङ्ल्यान्डकी फारा विलियम्सले गोल फर्काउँदै खेल बराबरी गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सकिनै लाग्दा इङ्ल्यान्डकी लउरा बसेटले आत्माघाती गोल गरेपछि जापान २-१ ले विजयी भयो ।
जीतसँगै जापानले अमेरिकाविरुद्धको फाइनल भिडन्त तय गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा जर्मनीलाई २-० ले हराउँदै साविक उपविपजेता अमेरिकाले फाइनलमा ठाउँ पक्का गरेको थियो । चार वर्ष अगाडी सम्पन्न महिला विश्वकपको फाइनलमा पनि अमेरिका र जापान भिड्दा जापानले बाजी मारेको थियो ।