लन्डन- सुनगाभा इन्टरटेनमेन्टको निमन्त्रणामा ‘भ्वाइस अफ नेपाल २०२४’ को कलाकार टिम लन्डन आइपुगेको छ ।
लन्डनस्थित हिथ्रो विमानस्थलमा सुनगाभा इन्टरटेनमेन्टका कार्यवाहक सीईओ मिन रोका मगर, प्रबन्ध निर्देशक गौरव लिम्बू, निर्देशक लोकनाथ अधिकारी लगायतले ‘भ्वाइस अफ नेपाल’को कलाकार टिमलाई स्वागत गरेका छन् ।
‘भ्वाइस अफ नेपाल २०२४’ को टोली सांगीतिक कन्सर्ट गर्न सिजन ५ का टप ४ प्रतिस्पर्धी कतार एयरलाइन्समार्फत् युके आएका हुन् । उक्त टिममा ‘द भ्वाइस सिजन ५’ का फस्ट रनर अप मकरबहादुर योन्जन, ‘तेस्रो रनर अप’ नोगेन लिम्बू र सिजन ४ को टप ४ योगेश मगर रहेका छन् । सिजन ५ का विजेता विनोद राई अमेरिका रहेकोले उतैबाट आउने कार्यक्रम छन् । कलाकारसँगै भ्वाइसका कार्यकारी निर्माता तथा होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका हुन् ।
सुनगाभा इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक गौरव लिम्बूका अनुसार भ्वाइस अफ नेपालले यूकेमा १० वटा सहरमा कार्यक्रम हुनेछ । शनिबारदेखि आगामी २६ तारिखसम्म कार्यक्रम हुनेछ । सुनगाभाले भ्वाइसको टिमसँग पहिलो पटक सहकार्य गरेको बताउँदै अब निरन्तर सहकार्य हुने उनले बताए ।
भ्वाइसका कार्यकारी निर्माता तथा होस्ट सुशील नेपालले विगतमा जस्तै आफ्नो कलाकार समूहलाई बेलायतबासीले माया गर्ने विश्वास व्यक्त गरे ।
सुनगाभाले योभन्दा अगाडि पनि नेपाली कलाकारलाई ल्याएर नेपाली संस्कृतिलाई प्रचार प्रसार गर्ने गरेको थियो ।






