खोटाङ, १४ असार । जिल्लाको दक्षिणी गाविस लिकुवापोखरी–७ स्थित वीणा माविलाई बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङको बुइपा–१ कट्टी घर भई हाल बेलायत बस्दै आउनुभएका हिमालशेर राईले विद्यालयको भवन निर्माणका लागि रु दुई लाख आर्थिक सहयोग गर्नुभएको हो । भवन अभावका कारण पठनपाठनमा समस्या भएको देखेपछि राईले उक्त रकम उपलब्ध गराउनुभएको प्रधानाध्यापक महेश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार राईले बेलायतबाटै विद्यालयको खातामा रकम जम्मा गरिदिनुभएको हो । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । २०१८ सालमा स्थापना भएको उक्त विद्यालय स्थानीयवासीले चन्दा सङ्कलनबाट सञ्चालन गर्दै आएका छन् ।
वीणा माविलाई बेलायतबाट आर्थिक सहयोग






