लन्डन पशुपतिनाथ मन्दिरको तिजमा देखियो हर्सोउल्लास नाचे हजारौं दिदी बहिनी(भिडियो सहित)

लण्डन ।

पशुपतिनाथ मन्दिर लन्डनको आयोजनामा साउथ ईस्ट लण्डनको एसिएन कम्युनिटी सेन्टरमा तीज कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ। 

१८ सेप्टेम्बर सोमबार तीजको उपासना र ब्रत बसेका महिलाहरुलाई मन्दिरका मूल पन्डित निलहरि घिमिरे लगाएत पण्डितहरु द्वारा सामुहिक पुजा आराधना गराउनुका साथै तीज पर्वको महत्व माथि पर्वचन समेत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल  रहनु भएको थियो ।

प्रमुख अतिथि खनालले नेपाली संस्कृति र परम्परा जोगाउने कार्यको प्रशंसा गरिन् । उनले नेपाली नारीहरु जहाँ रहेपनि आफ्नो संस्कृतिको जगेर्ना गरिरहेकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा ख्याती प्राप्त भागवत वाचिका विदुषी माता सपना देवी बाट हरितालिका तिजको विषयमा आध्यात्मिक दार्शनिक प्रवचन समेत दीनु भएको थियो ।

कार्यक्रममा गायिका बन्दना पाण्डे र गायक राजेश बर्देवा साथमा बिभिन्न कलाकार हरुले नृत्य तथा तीज गीतहरु प्रस्तुत गरेका थिए। समुहमा गोलवद्द भएर परम्परागत रुपमा सबै महिला हरुले पुराना गीतहरु गाउँदै नाचेको दृश्य कार्यक्रमको एउटा आकर्षण बनेको थियो। 

सामुदायीक रुपमा ठुलो संख्यामा उपस्थित महिलाहरुले सामुहिक नाचगानमा निकै मनोरंजन लिएका थिए।

कार्यक्रममा झन्डै एक हजारको संख्यामा उपस्थिती रहेको जानकारी कार्यक्रम संयोजक  तारा भट्टराई बताइन् ।

पशुपति मन्दिर समितीका अध्यक्ष गोपाल अर्यालले स्थानीय महिला हरुको आश्था र मनोरंजनमा टेवा पुर्याउन मन्दिर समितीले यस्तो कार्यक्रमको आयोजना बर्षौ देखी गर्दै आईरहेको बताए।

रातो साडीमा सजिएका महिलाहरुको ताँती कार्यक्रम स्थल तर्फ दिनभरी नै चलिरहँदा कार्यक्रम स्थल वरपरका टाउन सेन्टर लगायतका स्थान हरुमा समेत तीजको रौनक सजिलै महसुस गर्न सकिन्थ्यो।

साडी, गहना र भेषभुषामा सज्जित महिलाहरु पुजा आजा, नाचगान, गफगाफ, सेल्फी, वेल्फी सबैतिर व्यस्त बन्दै रमाएका थिए।