लण्डन ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लण्डनमा १० सेप्टेम्बरमा हुन लागेको ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरमा सहभागी हुने भएका छन् ।
निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार धरान पुगेर साम्पाङलाई प्रिमियरमा निम्तो दिएपछि साम्पाङले निमन्त्रणा स्वीकारेका हुन्।
साम्पाङले निम्तोपत्र बुझ्दै फिल्ममार्फत गोर्खालीको गौरवगाथा अन्तर्राष्ट्रिय रुपमै फैलाउनु जरुरी रहेको बताएका थिए ।
नेपाली फिल्मलाई आइम्याक्समा प्रिमियर गर्नु आफ्नो २० वर्षअघिको सपना रहेको जनाउंदै उनले मेयर साम्पाङको उपस्थितिले समारोहलाई अझै भव्य तुल्याउनेछ आशा व्यक्त गरे।
निर्माता तथा निर्देशक चाम्सले वीर पूर्खाहरुलाई हेर्ने ऐतिहासिक दिन (प्रिमियर) लाई भब्य सफल बनाउन सबैमा अपिल पनि गरेका छन् ।
‘उहाँले आफू फिल्म प्रिमियरमा सहभागी हुने र आफूलाई काममा साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको बताउनुभयो,’ निर्देशक चाम्सले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा आफ्नो साथ हुने उहाँले बताउनुभयो ।’
लन्डन स्थित आइम्याक्स सिने वर्ल्ड लेस्टर स्क्वायरमा हुने रेडकार्पेट प्रिमियर शो का लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेलायत आउने तयारी गरिएको गोर्खा वारिअर’ फिल्मका एम डि सन्तोष कुमार सुबेदीले लन्डन नेपाल न्युजलाई बताए।उनले अहिले सम्मकै उत्कृष्ट नेपाली सो का लागि व्यापक तयारी गरिएको समेत बताए ।उक्त प्रिमियरमा विजय लामासहित फिल्मका कलाकारहरु पनि लण्डन आउने बताइएको छ ।
बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको पनि चाम्सले जनाए ।






