भारत विरुद्धको क्रिकेट श्रृखंलामा बंगलादेश विजयी

भारत विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखला बंगलादेशले जितेको छ । मिरपुरमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा भारतलाई ६ विकेटले हराँउदै घरेलु टोली बंगलादेशले भारत विरुद्ध पहिलो एक दिवसीय श्रृंखला जित्ने किर्तीमान बनाएको हो । बंगलादेशको जीतमा तिब्र गतीका बलर मुस्ताफिजुर रहमान फेरी एकपटक नायक बने ।
खेलमा पहिले व्याटिङ गरेको भारतले ४५ ओभरमा अलआउट हुँदै २ सय रन जोड्यो । भारतको लागि शिखर धवनले ५३ रन तथा महेन्द्र सिंह धोनीले ४७ रनको योगदान दिए । भारतलाई सस्तैमा समेट्न बंगलादेशका बलर मुस्ताफिजुरले ६ विकेट लिए । अघिल्लो खेलमा मात्रै बंगलादेशको लागि डेब्यु गरेका मुस्ताफिजुरले लगातार दुई खेलमा ५ वा बढी विकेट लिने किर्तीमान समेत बनाएका छन् ।
जवाफमा वर्षाले प्रभावित खेलमा बंगलादेशलाई ४७ ओभरमा २ सय रन बनाउनुपर्ने नयाँ लक्ष्य दिइयो । डि.एल. मेथड अनुसारको यो लक्ष्य बंगलादेशले ३८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । बंगलादेशको जितमा शकिब हल हसनको अविजित ५१ रन महत्वपुर्ण रह्यो । जारी श्रृंखलामा शकिबको यो लगातार दोस्रो अर्धशतक हो ।
जीतसँगै बंगलादेशले तीन एक दिवसीय खेलको श्रंखलामा २-० को अग्रता लिदैं श्रृंखला कब्जा गरेको छ । जीतपछि एक दिवसीय वरीयताको सातौं स्थानमा उक्लिदैं बंगलादशेले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । वरियताको आठौं स्थानमा वेष्ट एन्डिज छ भने पाकिस्तान नवौं तथा आयरल्याण्ड दशौं स्थानमा छ । च्याम्पियन्स ट्रफीमा आईसीसी वरियताका शिर्ष ८ टोली सहभागि हुन पाउने प्रावधान छ ।