लन्डन ।सात समुन्द्रपारी रहेपनि नेपालीले आफनो नेपाली नया बर्ष भने भूल्न सक्दैनन् । झनै प्रवासमा धुमघामले मनाउछन्।अरु बेला कामले फुर्सद नपाए पनी नेपाली नयां वर्ष लाई एक आपसमा भेटघाटको अवसर पनि बनाउँछन् ।यसै बीच युरोपकै पुरानो नेपाली संस्था यती नेपलिज एसोसिएसन यूकेले शनिबार नेपाली नयां वर्ष धुमधामसंग मनाएको छ ।
पिपला पाण्डे देवान नेतृत्वको कार्यसमितिले क्लेरिटियन ओसिस हल हेजमा गरेको पहिलो कार्यक्रममा करिब ५ सय जना सहभागी थिए । आयोजकले यतीको सार्वजनिक कार्यक्रममा पछिल्लो दशक यताकै बढी दर्शक सहभागिता भएको जनाएको छ ।
वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीइ) को प्रमुख आतिथ्य र अध्यक्ष पिपला पाण्डे देवानको सभापतित्वमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल विशेष अतिथीका रुपमा उपस्थित थिइन् । नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड ‘परफर्मेन्स’ हेर्न बेलायतका विभिन्न शहरबाट नेपाली ओइरिएका थिए ।
कार्यक्रमको शुरुवात लाखे नाचबाट गरिएको थियो जसमा प्रमुख अतिथीसहित अन्य अतिथी र कार्यसमिति सदस्यहरुलाई लाखे नाचका साथ कलश बोकेका कलाकारहरुले स्वागत गर्दै कार्यक्रम हल भित्र लगेका थिए ।
प्रमुख अतिथी डा. धिताल र विशेष अतिथी नियोग उपप्रमुख खनालले रिबन काटेर कार्यक्रम स्थलको ढोका खोलेका थिए भने उनीहरुले पानसमा बत्ति बालेर कार्यक्रम शुरुवात गरे ।
पहिलो चरणको औपचारिक कार्यक्रम यती महासचिव टंक भट्टराईले सञ्चालन गरेका थिए । महासचिव भट्टराईले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ अनि स्वागत गर्दै कार्यक्रम अगाडि बढाएका थिए । भाषण कम राख्ने उद्देश्यसहित कार्यक्रम मुख्यतया मनोरन्जनात्मक बनाउन सक्दो प्रयास गरिएको महासचिव भट्टराईले बताए ।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी डा. धितालले धेरै समय पछि यतीको कार्यक्रममा उल्लेखनीय सहभागिता देख्दा भावुक भएको जनाउंदै नयां कार्यसमितिलाई धन्यवाद र बधाई दिए ।
विशेष अतिथी खनालले नेपालको प्रतिनिधित्व हुने गरि कार्यक्रम गरेकामा आयोजकलाई धन्यवाद दिइन् । ग्रीनवीच बरो काउन्सिलर जीत रानाभाटले यती संस्थाले सम्पूर्ण नेपाली समुदायले समेटेर केही रचनात्मक काम गर्न खोजेकामा प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
अध्यक्ष पिपला पाण्डे देवानले औपचारिक कार्यक्रम समापन गर्दै सहभागी सबै र रातदिन नभनि खटिएर कार्यक्रम पूर्ण सफल बनाउन क्रियाशील समस्त कार्यसमिति सदस्यहरुलाई धन्यवाद दिइन् । अध्यक्ष देवानले यतीले भविष्यमा धेरै कार्यक्रम ल्याउने पनि जनाइन् ।
औपचारिक कार्यक्रम समापनपछि सांस्कृतिक सचिव पूर्णबहादुर थापा (दीपक मैथाने) र सहसचिव आस्था जोशी ले सांस्कृतिक कार्यक्रम चलाएका थिए ।
नेपालबाट आएका राष्ट्रिय गायक गायिकाहरु कृष्ण काफ्ले, साहिमा श्रेष्ठ, रमिला न्यौपाने, पृथ्वी गुरुङ र बविता बानिया (जेरी) तथा लन्डन र बाहिर विभिन्न ठाउँबाट आएका १३ जना कलाकारले बेजोड प्रस्तुति दिए ।
स्थानीय कलाकारहरुले लाखे नाचदेखि कथ्थक, शेर्पा, घाटु डान्स प्रस्तुत गर्दा कार्यक्रम बडो रोचक बन्यो ।सांस्कृतिक कार्यक्रममा सहभागी सबै कलाकारहरुलाई आयोजकले प्रमाणपत्र साथै नगद पुरष्कार प्रदान गरे ।

उक्त कार्यक्रमको प्लेटिनम स्पोन्सरमा माया सपोर्टेड लिभिंग थियो भने सहप्रायोजकहरुमा एचटिआर केयर एण्ड रिक्रुटमेन्ट लि., जेएएपी फाइनान्सियल सोलुसन्स्, एस रिक्रुटमेन्ट एवं अन्य प्रायोजकहरुमा देउराली ट्राभल, केटिएम ट्राभल एण्ड टुर, खुकुरी बियर यूके लि., जिएनएस एसोसिएट्स, अब्सोलुट्ली देशी थिए । आयोजकले सबै प्रायोजकहरुलाई टोकन अफ लभ र प्रशंसा पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले आकर्षक राफल ड्र पनि गराएका थिए जसमा भाग्यशाली विजेताले पहिलो पुरस्कार एक तोला सुन, दोश्रो पुरस्कार आधा तोला सुन र तेश्रो पुरस्कार ५ तोला चांदी थियो । अन्य पुरस्कार पनि समावेश थिए । 










